जलिरहेका चिताका तस्बिर खिच्ने फोटोग्राफरको अनुभूति – Nepal Press

जलिरहेका चिताका तस्बिर खिच्ने फोटोग्राफरको अनुभूति

कानपुरको भैरव घाट शवगृहमा खिचिएका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्बिर हेरेर त्रसित भएका मानिसहरूले त्यसलाई आफ्नै ढंगले अनुमान लगाइरहेका छन् ।

ती तस्बिर पीटीआईका फोटोग्राफर अरुण शर्माले लिएका थिए । शर्माले एउटा भिडियो पनि सेयर गरेका छन् । जुन ट्विटर र इन्स्टाग्राममा भाइरल छ ।

शर्मा भन्छन्, ‘जब मैले यी तस्बिर लिएँ, घाटमा ३८ चिता जलिरहेका थिए । केही चितामा पानी हालेर चिस्याइँदै थिए ।’

https://twitter.com/ARUNSHARMAJI/status/1386703957448282112?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1386703957448282112%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fhindi%2Findia-56900952

घाटमा केवल कोभिड संक्रमितका शव जलाइँदैछन् । यहाँ जलिरहेको चिताको तापले नजिकै रोपिएका रूखहरू पनि जलिरहेकाझैं लाग्छन् ।

१५ वर्षदेखि फोटो पत्रकारिता गरिरहेका शर्मा भन्छन्, ‘मैले सबैभन्दा ठूला दुःखहरूलाई कैद गरेको छु, तर यस्तो महसुसचाहिँ भएको छैन । यो दृश्य मेरो हृदय र मस्तिष्कमा बसिरहने वाला थियो ।’

अरुण शर्मा, अप्रिल १६मा दिल्लीबाट कानपुर पुगेका थिए । अस्पताल हुँदै घाटहरूमा फोटो खिच्दै थिए । सहरका अगल अलग ठाउँमा गएर महामारीको व्यापकता आँकलन गर्न कोसिस गर्दै थिए ।

उनी भन्छन्, ‘म दिउँसो पनि घाटमा गएँ । मलाई लाग्यो- त्यहाँ परिस्थिति नाजुक छ । त्यहाँ दिउँसो लासहरू जलाइन्थे । तर प्रशासनले रातमा पनि लास जलाउने निर्णय गरेछ । मलाई एक स्थानीय पत्रकारले साँझ लास जलाएका भिडियो पठाए ।’

अरुण त्यो साँझ घाटमा पुग्ने निर्णय गरे। उनी साँझमा घाट पुग्दाम १०/१२ लासहरू बाहिर थिए । र ३८ ओटा चिता जलिरहेका थिए । चिताबाट उडेको धुवाँ निलो आकाशमा मिसिरहेका थिए । त्यो भयावह र हृदयविदारक दृश्य थियो।

‘त्यहाँ यति धेरै गर्मी कि उभिन पनि असम्भव थियो । चिताको तापले शरीर तातिरहेको थियो । यस्तो लागिरहेको थियो– हामीभित्र पनि केही जलिरहको छ । शरीरमा क्याल्सियम हुन्छ, जुन जल्दा निकै दुर्गन्ध आउँछ र सेतो धुँवा निस्कन्छ,’ अरुण भन्छन् ।

अरुणका अनुसार त्यहाँ केवल ती व्यक्ति थिए जसले मृत शरीरलाई दाहसंस्कार स्थलमा ल्याएका थिए । उनीहरूबाहेक कोही थिएन त्यहाँ ।स्थलमा १२ जना काम गरिरहेका थिए, जसमध्ये चार जना चिता जलाइरहेका थिए ।

अरुण शर्मा लगायत अन्य धेरै पत्रकार जोखिमको बाबजुद बाहिर निस्केर भुइँमान्छेका तस्बिर आम मानिसका सामुन्य ल्याइरहेका छन् ।
के उनीहरुलाई कोभिडको बखत पत्रकारिता गर्न डर लागिरहेको छ ?

अरुण भन्छन्, ‘मसँग दुईवटा विकल्प छन्, कि म भाग लिन्छु वा म यहाँबाट भाग्छु । भागेर जानुको सट्टा म भाग लिन्छु । शवहरूको तस्बिर लिनु मेरो लागि फरक अनुभव थियो । सामान्यतयाः यस्तो हुँदैन । यति धेरै मानिसको मृत्यु एक साथ हुँदैन । यो समय तस्बिर लिँदाका क्षण मस्तिष्कमा जे चलिरहेको थियो त्यो बताउन सजिलो थिएन ।’

अरुण थप्छन्, ‘ अरु बेला हामी प्रदर्शनहरूलाई कभर गर्छौं, प्रेस सम्मेलन गर्छौं, तर यति धेरै लास एकैचोटि देख्दैनौं । यसले त हाम्रो हृदय र दिमागलाई असर गरिरहेको छ । एकै दिनमा दुई सय पचास मानिसहरूको लास देखिन्छ भने यसको असर मस्तिष्कमा अवश्य हुन्छ ।’

कानपुरका यी तस्बिर भाइरल भएपछि सरकारी तथ्यांकमाथि पनि प्रश्न उठेको छ । स्थानीय अखबारका अनुसार कानपुरको दाहसंस्कार घाटमा ४ सय ७६ चिता जलेका थिए । तर त्यस दिन प्रशासनको आधिकारिक आँकडाले ६ जनाको मात्र मृत्यु भएको सूचना दियो ।
के वास्तविक तथ्यांकहरू जनताबाट लुकाउन खोजिएको थियो ?

एक वरिष्ठ अधिकारीले बीबीसीलाई नाम नखुलाउने सर्तमा भने, ‘वास्तविक तस्बिर यति डरलाग्दो छ कि मानिसहरू त्यो देखेर डराउनेछन् ।’
अरुण भन्छन्, ‘सत्य जति नै विभत्स किन नहोस्, त्यसलाई देखाउनु हाम्रो कर्तब्य हो । हामी इतिहासको यो कालखण्डलाई आफ्नो तस्बिरको माध्यमबाट रेकर्ड गर्दैछौं । हामीले खिचेका तस्बिरहरू तथ्यांकविरुद्ध देख्न सकिन्छ र मानिसहरूले सत्यलाई जान्न सक्छन् ।’

‘जबसम्म हामी परिस्थितिको गम्भीरपना र भयावह स्थिति स्वीकार गर्दैनौं तबसम्म त्यसको सामना गर्न सक्दैनौं । मलाई लागेको छ, हाम्रो तस्बिरले जनतामा सत्य उजागर गर्‍यो ,’ उनी भन्छन् ।

महामारीमा मानिसहरूले जीवन मात्र गुमाइरहेका छैनन्, अनुभव पनि गरिरहेका छन् । मानिससँग मानिसको भरोसा गुम्ने स्थिति छ । अरुण भन्छन्, ‘अस्पताल बाहिर हामी यस्ता धेरै व्यक्ति भेटिरहेका छौं जसले परिवारका मृत शरीर मात्र पाइरहेका छन् भन्ने गुनासो गर्छन् ।’

उनीहरुका सामान त छैनन् । ‘बिरामीले लगाएको गहनाहरू पनि मृत शरीरमा फेला परेनन्,’ अरुण भन्छन् ।

अरुण गत हप्तादेखि कानपुरको अस्पताल, ग्यास रिफिल स्टेशनहरू र अन्त्येष्टि स्थलहरूमा गएका थिए। उनी भन्छन्, ‘यो महामारीको पूर्ण सत्य अझै बाहिर आएको छैन । अस्पतालबाहिर मानिसहरू मरेका छन्। मानिसहरूले अक्सिजन पाइरहेका छैनन् ।’

(बीबीसी हिन्दीमा २८, अप्रिलमा प्रकाशित भएको यो सामग्री नेपाल प्रेसले नेपालीमा अनुवाद गरेको हो ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *