मुख्यमन्त्री शाहीले गरे प्रदेश अस्पताल अनुगमन – Nepal Press

मुख्यमन्त्री शाहीले गरे प्रदेश अस्पताल अनुगमन

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् ।

सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन् ।

कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना संक्रमितको मृत्यु भएपछि उनले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले कोरोना संक्रमितहरू रहेको आइसोलेसन वार्डको निरीक्षण गरे । अस्पतालको सेवा तथा बिरामीहरूको अवस्थाको अनुगमन तथा निरीक्षणको क्रममा उनले अस्पताल निर्देशक डा डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा केएन पौडेलसँग उपचार सेवा प्रभावबारे जानकारी लिए ।

अनुगमनपश्चात अस्पतालका निर्देशक डा खड्कासहित चिकित्सकहरूलाई उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिए । कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूका गुनासो एवं समस्याबारे पनि उहाँले जानकारी लिएका थिए ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले शुक्रबार बेलुका वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतका ३२ वर्षीय महिलाको मृत्यु भएको जनाएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । कर्णाली प्रदेशमा २५३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुनेको संख्या ९ हजार ३ सय ४७ पुगेको निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर