मुलुकभरका २३ जिल्लामा निषेधाज्ञा, १४ जिल्ला पूर्णरुपमा बन्द – Nepal Press

मुलुकभरका २३ जिल्लामा निषेधाज्ञा, १४ जिल्ला पूर्णरुपमा बन्द

काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । गृह मन्त्रालयका  विववरण अनुसार शुक्रबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये १४ जिल्ला पूर्णरुपमा र ४ जिल्ला आंशिक बन्द छन् । थप ५ जिल्लामा निषेधाज्ञा जारी हुने क्रममा छ ।

सल्यान, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा र झापा जिल्लामा निषेधाज्ञा जारी गरिने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले जनाएका छन् । शनिबार राति १२ बजेदेखि जाजरकोट, आइतबार बिहान ६ बजेदेखि रुकुम पश्चिम, सल्यान र डडेल्धुरा तथा आइतबार राति १२ बजेदेखि झापामा निषेधाज्ञा जारी हुने मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले जानकारी दिए ।

यस्तै १९ गते आइतबार बिहान ६ बजेदेखि सल्यानमा पनि निषेधाज्ञा जारी हुनेछ । अहिलेसम्म पूर्णरुपमा निषेधाज्ञा लागेका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन र रुपन्देही छन् । शुक्रबार राति १२ बजेबाट पाल्पा र सुनसरीमा निषेधाज्ञा जारी हुँदैछ । यसैगरी, बागलुङ, कालिकोट, बर्दिया र दार्चुलामा आंशिक निषेधाज्ञा लागू भएको छ । बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४, साविक आमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा छ । यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिका ११ रेङगिलमा निषेधाज्ञा जारी गरिएको छ ।

बर्दियाको गुलरिया नगरपालिकास्थित ५ र ६ नम्बर वडाका सबै क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै दार्चुुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६, शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ को बलाँज बजार क्षेत्र, वडा नम्बर २ को देथला बजार क्षेत्र, वडा नम्बर ३ को कर्कले बजार क्षेत्र, वडा नम्बर ५ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र र वडा नम्बर ९ को गोकुलेश्वर बजार, कठपते, गाँजरी, नायल र घट्टीगाड क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।

मन्त्रालयका प्रवक्ता दाहालका अनुसार अहिलेसम्म निषेधाज्ञा जारी भएका जिल्लामध्ये बाँकेमा २० गतेसम्म, सुर्खेत र कास्कीमा २१ गतेसम्म, काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा र कञ्चनपुर २२ गतेसम्म जारी रहने छ । शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको दाङमा २५ गतेसम्म, शुक्रबार राती १२ बजेदेखि पाल्पा र सुनसरीमा लाग्ने निषेधाज्ञा २४ गतेसम्म जारी रहने उनले बताए । यस्तै बिहिबार बिहान ६ बजेबाट निषेधाज्ञा लगाइको रुपन्देहीमा ३० गतेसम्म, चितवनमा ३१ गतेसम्म र १९ गते आइतबारबाट निषेधाज्ञा लगाइने सल्यानमा जेठ २ गतेसम्म जारी रहनेछ ।

शनिबार राति १२ बजेबाट निषेधाज्ञा जारी हुने जाजरकोटमा २५ गते राति १२ बजेसम्म, १९ गते आइतबार बिहान ६ बजेबाट निषेधाज्ञा लगाइने रुकुम पश्चिममा ३१ गते राति १२ बजेसम्म, १९ गते आइतबार बिहान ६ बजेबाट नै निषेधाज्ञा जारी हुने डडेल्धुरामा २५ गते राति १२ बजेसम्म र १९ गते आइतबार राति १२ बजेबाट नै निषेधाज्ञा जारी हुने झापामा २६ गते राति १२ बजेसम्म जारी रहने छ ।

झापामा लगाइएको निषेधाज्ञामा सवारी साधनमो जोर बिजोर प्रणाली लागू गरिएको छ । बैशाख ७ गतेदेखि आंशिक निषेधाज्ञा लगाइएको बागलुङ र बैशाख १० गतेबाट आंशिकरुपमा निषेधाज्ञा लगाइएको कालिकोटमा शुक्रबार म्याद सकिँदैछ । बर्दियामा पनि बैशाख १३ गतेबाट लगाइएको आंशिक निषेधाज्ञा १९ गते आइतबार सकिँदैछ । आंशिक रुपमा निषेधाज्ञा लगाइएको दार्चुलामा अर्को आदेश नभएसम्मका लागि जारी रहने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर