तीन दर्जन पत्रकार भेला पारेर देउवाको आरोप : सरकारले भिडभाड गरेर कोरोना बढायो – Nepal Press

तीन दर्जन पत्रकार भेला पारेर देउवाको आरोप : सरकारले भिडभाड गरेर कोरोना बढायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्न लागेको खबर शुक्रबार बिहानै समाचार कक्षहरुमा सम्प्रेशन भयो । राजधानीमा निषेधाज्ञा जारी भएसँगै केन्द्रको राजनीतिक चलखेल सुस्ताएका बेला देउवाले गतिलै खुराक दिने आशाले पत्रकारका मुख रसाए ।

कोरोना नियन्त्रणका लागि भन्दै काठमाडौंमा बिहीबारदेखि लागू गरिएको निषेधाज्ञाका कारण अहिले धेरै पत्रकार सकेसम्म समाचारकक्षमै खुम्चिएका छन् । राजनीतिक रिपोर्टिङ गर्न पत्रकारलाई केही दिनअघिसम्म भ्याइनभ्याइ थियो । अहिले फुर्सदिला भएका छन् । यस्तोमा ‘वेटिङ प्राइममिनिस्टर’ ले निवासमै डाकेपछि नजाने प्रश्नै आएन ।

देउवा मिडिया फ्रेन्डली नेता होइनन् । उनलाई धेरै सवालजवाफ गर्न पनि मन पर्दैन । तर, बेलाबखत कुनै महत्वपूर्ण कुरा भन्नुपर्यो भने निवासमै पत्रकार डाक्छन् । त्यसैले आज पनि देउवाले के भन्ने हुन् भन्ने कौतुहल ब्यापक थियो । खासगरि नयाँ सरकार निर्माणका विषयमा नयाँ कुरा केही आउला कि भन्ने आशामा थिए पत्रकार ।

तर, देउवाको आजको पत्रकार सम्मेलनको उद्देश्य गैरराजनीतिक थियो । उनले कोरोनाको विषयमा कांग्रेसको धारणा सुनाउन पत्रकारलाई डाकेका रहेछन् । आफ्नो निवासको प्रांगणमा पत्रकारलाई वरिपरी राखेर उनले लिखित मन्तव्य पढे । कोरोनाका विरुद्ध सरकारले लिएका रणनीतिहरुको आलोचना गरे र कांग्रेसले जनतामा सचेतना अभियान सञ्चालन गर्न लागेको सुनाए ।

यता पत्रकारलाई भने देउवाको राजनीतिक सन्देश चाहिएको थियो । कोरोनाको मात्रै कुरा गरेर देउवाले लिखित मन्तव्य टुंग्याएपछि पत्रकारले राजनीतिक प्रश्न सोध्न थालिहाले । आफ्नो स्वभावअनुसार देउवाले पनि हरेक प्रश्न-प्रश्नमा झोक्किँदै जवाफ दिए ।

नयाँ सरकार गठन र अविश्वास प्रस्तावको विषयमा उनले आफ्नो पक्षमा बहुमत नपुगेको जवाफ दोहोर्याए । एमसीसीबारेको प्रश्नमा उनी उत्तेजित देखिए । सित्तैमा पैसा आउने भन्दै यसलाई अनुमोदन गनुपर्ने अडान देउवाले दोहोर्याए ।

‘यो बाबुराम भट्टराइको पालादेखि भएको काम हो,’ देउवाको भनाइ थियो, ‘मेरो पालामा त सिग्नेचर गरेर पठाएको मात्रै हो । यत्रो ठूलो अनुदान, ब्याजस्याज छैन । सित्तैमा आएको छ । तर, अनेक भ्रम फैलाइयो ।’

उनले थपे, ‘अमेरिकी सेना आउँछ भनेर हल्ला फैलाइएको छ । हामीले त्यस्तो गर्न दिन्छौ ? कसैले दिन्छ ? यस्ता झुट्टा प्रचार भइराख्या छ ।’

पत्रकारको अर्को प्रश्न थियो, ‘एमसीसी पारित भएन भने मलाई अप्ठेरो पर्छ भन्ने तपाईंले भन्नुभएको कुरा आयो नि ?’

देउवाले रुखो स्वरमा प्रतिप्रश्न गरे, ‘कहाँ भन्या छु मैले ?’

पत्रकारले जवाफ दिए, ‘बाहिर आएको कुरा हो ।’

देउवाले झोक्किँदै भने, ‘होइन भनिसकेँ त मैले । फेरि भन्छु सुन्नु, होइन, होइन, होइन ।’

संवाददाताले फेरि सोधे- एमसीसीको विषयमा प्रचण्डसँग सहमति भएको भन्ने कुरा चाहिँ के हो ?

देउवाले भने, ‘होइन । प्रचण्डले सहयोग गर्छु भनेको छैन ।’

प्रश्नको एक-दुई लाइनमा जवाफ दिनु, प्रश्न सोध्ने पत्रकारमाथि खनिनु र चिडचिडापन देखाउनु देउवाको सदावहार शैली हो । आज पनि उनी त्यही शैलीमा पेश भए ।

उल्लेखनीय कुरा चाहिँ के रह्यो भने ‘सरकारले भिडभाड गरेर कोरोना फैलाएको’ आरोप लगाएका देउवाले आफूले तीन दर्जनजति पत्रकारलाई भेला गराएको चाहिँ बिर्सिए । सरकारले निषेधाज्ञा जारी गरेर २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ, त्यसलाई उनले उल्लंघन गरेका थिए ।

सरकारी निर्णयको किन अवेज्ञा गरेको भन्ने प्रश्नमा देउवासँगै रहेका सहमहामन्त्री डा. प्रकाशशरण महत संवाददाताहरुसँग झोक्किए- तपाईंहरु किन आएको त ? नआएको भए हुन्थ्यो नि ।


प्रतिक्रिया

One thought on “तीन दर्जन पत्रकार भेला पारेर देउवाको आरोप : सरकारले भिडभाड गरेर कोरोना बढायो

  1. यो नेपालप्रेश भन्ने अाफू नगएका भए हुन्थ्यो त? कस्तो शिर्षक राख्छ????

Leave a Reply to नेपाल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर