चर्चामा स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : कोरोनासँग सरकारले हात उठाएकै हो ? – Nepal Press

चर्चामा स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : कोरोनासँग सरकारले हात उठाएकै हो ?

काठमाडौं । कोरोना महामारीको सन्दर्भमा स्वास्थ्य मन्त्रालयले आज जारी गरेको विज्ञप्ति सामाजिक सञ्जालमा चर्चामा छ । धेरैले यसलाई कोरोनासँग ‘सरकारले हात उठाएको’ अर्थमा व्याख्या गरिरहेका छन् ।

‘सर्वसाधारणलाई अपिल’ भन्दै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा दुई बुँदे विज्ञप्ति जारी भएको हो । नेपालका २२ जिल्लाहरुमा कोरोना संक्रमण ‘डरलाग्दो गरी बढिरहेको’ विज्ञप्तिमा उल्लेख छ ।

‘अति संवदनशील जिल्लाहरुमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सबै दाजुभाई-दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ ।’

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको धेरै भएको छैन । स्वास्थ्य मन्त्रालयकै पूर्वानुमानअनुसार कोरोना महामारी जेठ अन्तिम र असार महिनामा उच्च विन्दूमा पुग्न सक्छ । तर अहिल्यै जिम्मेवार मन्त्रालयले ‘देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको’ भनेपछि सर्वसाधारणमा चिन्ता उत्पन्न हुनु स्वभाविक हो । त्यसमाथि ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ व्यहोराले थप त्राश उब्जाएको छ ।

सिंगो देश अहिले कोरोनाविरुद्धको लडाईंमा छ । यो लडाइको नेतृत्व गर्ने प्रमुख जिम्मेवार निकाय भनेको स्वास्थ्य मन्त्रालय नै हो । कोरोना महामारी सुरु भएको पनि एक वर्षभन्दा बढी समय भइसक्यो । आज यसरी निरिह विज्ञप्ति जारी गर्ने मन्त्रालयले यो एक वर्षमा नेपालको स्वास्थ्य प्रणाली मजबुत तुल्याउन के-के काम गर्यो भन्ने प्रश्न उठ्छ । देशका अस्पतालहरुको क्षमता कति अभिवृद्धि गरियो, कतिवटा आइसीयू-भेन्टिलेटर र बेडहरु थपिए भन्ने लेखाजोखा गर्दा सन्तोषजनक जवाफ भेटिँदैन ।

दोस्रो लहर सुरुभएदेखि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रको संवद्र्धन र खोप आपूर्तिको सुनिश्चितताभन्दा लकडाउनमा बढी जोड दिँदै आयो । बलियो स्वास्थ्य प्रणालीबिना लकडाउनले मात्रै कोरोनासँग लड्न सम्भव छैन भन्ने प्रमाणित तथ्यलाई उसले नजरअन्दाज गरेको छ । जनताले लकडाउन पालना गरेनन् भनेर गुनासो गरिरहँदा मन्त्रालयले के बिर्सिनुहुँदैन भने दैनिक काम नगरी हातमुख जोर्न नसक्ने बर्ग पनि देशमा ठूलो छ । उनीहरुका लागि कोरोनाको त्राशभन्दा पेटको भोक ठूलो हो ।

कोरोनाको महामारीले आक्रान्त देश नेपाल मात्रै होइन । विश्वका थुप्रै देशहरुलाई यसले हराबरा खेलाइरहेको छ । आजका दिनमा नेपालभन्दा बढी कोरोना संक्रमित भएका देश ५० वटा छन् । यी मध्ये केही देशको स्वास्थ्य प्रणाली नेपालको भन्दा नाजुक छ । ती देशमा सरकारले यसरी ‘हात उठाएको’ पाइँदैन ।

हाम्रो छिमेकी देश भारतकै कुरा गर्दा त्यहाँको स्वास्थ्य क्षेत्र चरम संकटमा छ । दैनिक झण्डै चार लाख संक्रमित थपिएका छन् । अस्पतालमा अक्सिजनको अभावले बिरामी मरिरहेका छन् । मृतकको दाहसंस्कार गर्नसमेत स्थान अभाव भएर सडक र पार्कमा शव दहन भइरहेको छ । तर, पनि सरकारले अब बिरामीको उपचार गर्न सकिँदैन भनेर लाचारी दर्शाएको छैन ।

नेपालमा चाहिँ स्वाथ्य मन्त्रालयले जनताको हौसला बढाउने भन्दा पनि स्थिति भयावह देखाएर अत्याउने काम गरिरहको एक जनस्वास्थ्यविद बताउँछन् ।

नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘स्वास्थ्य मन्त्रालयको विज्ञप्ति गैरजिम्मेवार छ । यसले जनतामा ‘पेनिक’ सिर्जना गर्छ । जनतालाई सचेत गराउने यो ठीक तरिका होइन ।’

हात उठाएका छैनौं, सचेत गराएका हौं : सहप्रवक्ता

विज्ञप्ति जारी गर्ने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारी भने कोरोनासँग हात उठाएको नभइ जनतालाई थप सचेत गराउन मात्रै खोजेको बताउँछन् । उनले मन्त्रालयमा उच्चस्तरीय छलफलपछि विज्ञप्ति जारी गरेको जानकारी दिए ।

‘जनतालाई त्रशित तुल्याउने हाम्रो अभिप्राय होइन,’ उनले भने, ‘तर, केही मानिसहरु अझै पनि कोरोनालाई मामुली ठानिरहेका छन्, निस्फिक्री हिँडडुल गरिरहेका छन् । उनीहरुलाई वास्तविकता यस्तो छ है भनेर सचेत गराउन खोजिएको हो ।’

त्यसो भए विज्ञप्तिमा भनिएजस्तै अब कोरोनाका बिरामीले अस्पतालमा उपचार नपाउने अवस्था आइसकेको हो त ? भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । २२ जिल्लामा भने गम्भिर अवस्था रहेको उनले बताए ।

‘कोरोना अति प्रभावित जिल्लाहरुमा सहजै वा भनसुनको भरमा बेड पाइहाल्ने अवस्था छैन, यो यथार्थ हो,’ उनले भने, ‘तर, कोरोना संक्रमितले उपचार नै नपाउने भन्न खोजिएको होइन । संक्रमित संख्या दशौं लाख पुगे पनि हामी आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन र भाग्दैनौं ।’

अधिकारीले अगाडि थपे, ‘हामीलाई एकातर्फ जनतामा त्राश कम पनि गर्नुपर्ने र अर्कोतर्फ कोरोनासँग डर पैदा पनि गराउनुपर्ने विरोधाभाषपूर्ण जिम्मेवारी छ । पछिल्ला दिनमा सरकारले लकडाउन गरे पनि कतिपय मानिसहरु निर्धक्क भेटघाट गर्ने, पाहुना बोलाएर पार्टी गर्ने गरिरहेका छन् । त्यसैले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि हामीले अलिक कडा विज्ञप्ति जारी गरेका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *