भारतसँगका २२ वटा नाका बन्द गर्न सीसीएमसीको सिफारिस, निषेधाज्ञा थप कडा बनाउनुपर्ने निस्कर्ष – Nepal Press

भारतसँगका २२ वटा नाका बन्द गर्न सीसीएमसीको सिफारिस, निषेधाज्ञा थप कडा बनाउनुपर्ने निस्कर्ष

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । कोरोनाभाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णयसमेत वैठकले गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले भारतसँग सीमा जोडिएका १३ वटा नाका खुला राखेर २२ वटा बन्द गर्न  मन्त्रिपरिषद्मा सिफारिस गरेको हाे । क्वारेन्टिनसहित खुला राख्ने निर्णय भएका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, बिर्तामोड, गौर, वीरगंज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी छन् ।

बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । सार्वजनिक निर्माणका सबै काम बन्द गर्न पनि सिफारिस गरेको उनले बताए । उद्योगहरु सञ्चालन गर्नुपर्ने भए मजदूर र कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरी सञ्चालन गर्न दिन प्रस्तावमा भनिएकाे छ ।

बैठकले नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । सीसीएमसीको सिफारिसमाथि मन्त्रिपरिषद्को आगामी बैठकमा छलफल हुने छ ।

वैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको जोखिम बढ्दो क्रममा रहेकाले सरकारको मात्रै प्रयासले यसको नियन्त्रण सम्भव नहुने बताएका थिए । जनता आफू पनि सचेत बन्नुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *