आज रातिदेखि पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा – Nepal Press

आज रातिदेखि पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा

रुपन्देही । कोरोना संक्रमण बढ्दै गएपछि लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा हुने भएको छ । पाल्पामा आज १७ गते राति १२ बजेदेखि र गुल्मीमा १८ गते राति निषेधाज्ञा गर्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

पाल्पा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ रातिदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन ।

सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु जम्मा हुन, भीडभाड गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गरिएको उनले बताए । त्यसैगरी संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलने क्रम बढ्दै गएपछि गुल्मीमा पनि लकडाउन घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति डीसीसीएमसीको बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म लकडाउन गर्ने निणर्य गरेको हो । जसअनुसार शनिबार राति १२ बजेदेखि २५ वैशाखसम्म लकडाउन हुने भएको हो ।

उक्त अवधिमा औषधि पसल चौबिसै घण्टा खुल्ने छन् भने अत्यावश्यक उपभोग्य बस्तु बेच्ने पसल विहान ७ देखि नौ बजेसम्म, निर्माण सामग्री बेच्ने पसल विहान ७ देखि ९ बजेसम्म र बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको छ ।

यसबाहेक सडकमा अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन । तर जिल्ला हुँदै चल्ने लामो दूरीका सवारी साधन भने चल्न पाउनेछन् । तर जिल्ला भित्र रोकिन भने पाउने छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर