२५ हजार धरौटी बुझाएर छुटे विप्लवका दाजु वीरजंग – Nepal Press

२५ हजार धरौटी बुझाएर छुटे विप्लवका दाजु वीरजंग

रुपन्देही । लामो समयदेखि कारागारमा रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता तथा विप्लवका सहोदर दाजु चन्द्रबहादुर चन्द (वीरजंग) पश्चिम नवलपरासी जिल्ला अदालतबाट आज धरौटीमा छुटेका छन् ।

उनी २५ हजार धरौटी बुझाएर रिहा भएका हु्न् । विगतमा पटक–पटक अदालतबाट छुटे पनि प्रहरीले पक्राउ गर्दै आएको थियो । तर, आज भने प्रहरीले कुनै धरपकड गरेन ।

चन्द पहिलोपटक २०७६ असोज ३० मा विप्लवका २१ जना नेता तथा कार्यकर्तासहित दाङबाट पक्राउ परेका थिए । त्यसबेला उनी विप्लव समूहको मध्यपश्चिम कमाण्डका इन्चार्ज थिए । नवलपरासीको बर्दघाटस्थित धनेवामा रहेको एनसेल टावरमा बम विष्फोट गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

कपिलवस्तु शिवराज नगरपालिका–९ शिवपुरगढी घर भएका चन्द्रबहादुर विप्लवका जेठा दाजु हुन् । आफूलाई अहिलेसम्म विभिन्न ८ जिल्लामा अड्डा सार गर्दै कारागार पठाइएको चन्द्रबहादुरले बताए । २०७७ असोज २१ गते उनलाई रुपन्देहीबाट नवलपरासी ल्याइएको थियो ।

त्यतिबेला अदालतले उनलाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । धरौटी नबुझाएपछि उनी कारागार चलान भएका थिए । पछि स्वास्थ्यमा समस्या आएपछि चन्द्रबहादुरलाई असोज २८ गते चितवन अस्पताल पठाइयो । उनी त्यहीँको कारागारमा थिए ।

चितवनबाट शुक्रबार नवलपरासी ल्याइएका उनले २५ हजार धरौटी बुझाएपछि अदालतले छाडेको हो । रिहा भएपछि पत्रकारहरुसँग प्रतिकृया दिँदै चन्द्रबहादुरले पार्टीसँग भएको ३ बुँदे सहमति सरकारले कार्यान्वन नगरेको गुनासो गरे ।

सहमति कार्यान्वयन नभए देश फेरि अनपेक्षित ढंगले अघि बढ्नसक्ने उनको भनाइ थियो । वीरजंगले भने, ‘सहमति राजनीति निकासका लागि आवश्यक थियो तर अहिलेसम्म पनि मुद्दा फिर्ता र कार्यकर्ताहरुलाई नछाडेकाले अपेक्षाकृत काम भएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर