प्रधानमन्त्रीले भने– जीवन उपयोगी शिक्षाका लागि सरकार प्रतिवद्ध – Nepal Press

प्रधानमन्त्रीले भने– जीवन उपयोगी शिक्षाका लागि सरकार प्रतिवद्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प तिव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवर्धन तथा विस्तार अनिवार्य भएको बताएका छन् ।

मित्र राष्ट्र कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको भर्चुअल माध्यमबाट समुदघाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रतिष्ठानको २९ सौं वार्षिकोत्सवका अवसर पारेर आयोजित उक्त समारोहमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै रोबोट यन्त्रको सहायताले भवनको रिवन काट्दै शीला स्तम्भ अनावरणसमेत गरेको थियो ।

उद्घाटन पछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दे प्रधानमन्त्रीले सरकार नागरिकलाई जीवन उपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागि परेको समेत बताए ।

शिक्षा प्राप्त गरेका हरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफै समस्या नबनोस् बरु त्यो पं्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढंगले योगदान पुर्याउने प्राविधिक शिक्षाको प्रवर्धनमा देश लागि रहेको उनले बताए ।
कोभिड १९ को महामारीले गर्दा भौतिक रुपमा उद्घाटन गर्न सक्नुसमेत प्राविधिक शिक्षाको सफलताको सूचक भएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रतिष्ठानले विगत दुई दशक भन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तलिम दिँदै आएको छ । हालसम्म ३३ हजार भन्दा बढी व्यक्तिहरुले प्रतिष्ठानमार्फत व्यावसायिक तालिम पाइसकेका छन् ।

कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग –कोइका) को अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो । कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि गर्ने र खासगरी उनीहरुलाई सूचना प्रविधिकसँग अभ्यस्त गराउने उद्देश्य प्रतिष्ठानको छ ।

नवनिर्मित भवनमा इपुस्तकालयसमेत को व्यवस्था छ । इ पुस्तकालय अन्तर्गत पुस्तकालय प्रवर्धन प्रणालीमार्फत प्रयोगकर्ताहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य पनि परियोजनाको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *