कोरोना नियन्त्रणमा सक्रिय स्थानीय सरकार: सैनामैनामा कोरोना अस्पताल, तिलोत्तमामा अत्याधुनिक आइशोलेसन सेन्टर – Nepal Press

कोरोना नियन्त्रणमा सक्रिय स्थानीय सरकार: सैनामैनामा कोरोना अस्पताल, तिलोत्तमामा अत्याधुनिक आइशोलेसन सेन्टर

रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्थानीय सरकारले नियन्त्रण तथा व्यवस्थापनमा सक्रियता देखाउन थालेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आएको छ । नगरको वडा नम्बर १ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोरोना अस्पताल सञ्चालनमा आएको हो ।

अस्पतालमा तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड छन् । यसैगरी अस्पतालमा एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् ।

बिहीबार अस्पतालको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अहिले नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे । उनले जिल्ला प्रशासनले आजदेखि लागू गरेको निषेधाज्ञाको समेत पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।

ढकालले प्रदेश सरकारले कोरोना रोकथामका लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै थप कार्य योजनाका लागि सर्वदलीय बैठक राखेर अघि बढिने बताए ।

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर, एउटा एक्सरे, तीन वटा प्यारामिटर थप भएमा ५० वटै बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने बताए ।

उनले यो सुविधा उपलब्ध भएमा नगरसँगै आसपासका पालिकाहरुमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले कोरोना रोकथामका लागि सैनामैना नगरपालिकाले जिल्लामै उत्कृष्ट कदम चालेको बताए । रुपन्देहीका १६ वटै पालिकाले यसको सिको गर्न जरुरी रहेको उल्लेख गर्दै कोरोनाबाट बँच्नका लागि सबै सचेत हुनुपर्ने औल्याए ।

तिलोत्तमामा अत्याधनिक आइसोलेशन सेन्टर

कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइशोलेसन सेन्टर तयार गरेको छ ।

कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्यचौकीमा आइशोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । गतवर्ष कोरोना महामारीको समयमा निर्माण गरिएको आइशोसन सेन्टरमा आवश्यक उपकरण व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमा नगरपालिकाले गत वर्ष आइसोलेशन सेन्टर निर्माण गरेको थियो । कोरोना महामारीको पहिलो लहरमा यहाँ बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालले पठाएका बिरामीलाई समेत राखिएको थियो ।

नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइशोलेसन सेन्टरको रुपमा तयार गरिएको जानकारी उनले बताए ।

बीस शैय्याको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईले बताए । सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिनेछ ।

केन्द्रमा बिरामीको २४ सै घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । कोरोना महामारीबाट नगरबासीलाई बँचाउन नगरपालिकाले गत वर्षदेखि नै आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *