प्रदेशसभाको निर्णयविरुद्ध रिट बोकेर जसपाका चार नेता सर्वोच्चमा – Nepal Press

प्रदेशसभाको निर्णयविरुद्ध रिट बोकेर जसपाका चार नेता सर्वोच्चमा

दाङ । हालै लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त गरिएका जनता समाजवादी पार्टी (जसपा) का चार नेता सर्वोच्च अदालत पुगेका छन् । आफुहरूलाई अवैध तरिकाले पदमुक्त गरिएको भन्दै निर्णय बदर गर्नुपर्ने मागसहित रिट हाल्ने उनीहरुको तयारी छ ।

प्रदेश सभाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च गएको नेतृ कप्तान पाण्डेले नेपाल प्रेसलाई बताइन् ।‘किर्ते काम गरेर हामीलाई संसदबाट हटाइएको छ । यो गैरकानुनी छ,’ उनले भनिन्, ‘यो निर्णय खारेजीका लागि हामी अहिले सर्वोच्च अदालत आएका छौँ । एक घन्टाजति लाग्छ भनिएको छ ।’

प्रदेशसभा सचिवालयलाई समेत विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गरिदै छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना टाँस गर्दै जसपाका चार सांसद पदमुक्त भएको जानकारी गराएको थियो ।

जसपा केन्द्रीय कार्यकारिणी समिति र प्रदेश संसदीय दलले निष्कासन गरेको जानकारी गराएकाले प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे, सुमन शर्मा रायमाझी र विजय यादवलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको सूचनामा उल्लेख थियो ।तर, जसपा केन्द्रीय अध्यक्ष महन्त ठाकुरले भने उक्त निर्णय अवैध भएको बताउँदै प्रदेश सभामा पत्र पठाएका थिए । जसपाको कार्यकारिणी समितिको वैठकले उनीहरुको विषयमा कुनै निर्णय नगरेको उनको पत्रमा उल्लेख छ ।

सरकारविरुद्ध अविश्वास प्रस्तावमा सही गरेका चार जसपा सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका थिए । त्यस लगत्तै उनीहरुलाई पदमुक्त गर्न प्रदेश संसदीय दलले प्रदेश सभामा पत्र पठाएपछि त्यसकै आधारमा प्रदेश सभाले उनीहरुलाई पदमुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर