६ महिनापछि मुख्यमन्त्री छोड्ने सर्तमा कांग्रेसले शाहीलाई विश्वासको मत दिएको खुलासा – Nepal Press
कर्णाली प्रदेश

६ महिनापछि मुख्यमन्त्री छोड्ने सर्तमा कांग्रेसले शाहीलाई विश्वासको मत दिएको खुलासा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६ महिनामा पदत्याग गर्ने शर्तमा कांग्रेसले उनलाई विश्वासको मत दिएको खुलासा भएको छ । बाँकी अवधिका लागि कांग्रेसले मुख्यमन्त्री पाउने गरी भद्र सहमति भएको स्रोतले बतायो ।

गत वैशाख ३ गते प्रदेश सभामा भएको मतदानमा कांग्रेसको साथ पाएपछि मुख्यमन्त्री शाहीको सरकार ढल्नबाट जोगिएको थियो । त्यसबेला एमालेका ४ संसदहरुले फ्लोर क्रस गरेर शाहीलाई समर्थन गरेका थिए । उनीहरूमध्ये तीनजना मन्त्री नियुक्त भइसकेका छन् । कांग्रेसले भने अहिलेसम्म स्पष्ट लाभ पाएको छैन ।

स्रोतका अनुसार मुख्यमन्त्री शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच हाललाई एक मन्त्री कांग्रेसले पाउने र ६ महिनापछि सरकार परिवर्तन गर्ने गोप्य सहमति छ । कांग्रेसको भागमा सामाजिक विकास मन्त्रालय परेको छ ।

‘फ्लोर क्रस गरेका तीन एमाले र एक कांग्रेस सांसदलाई ६ महिना मन्त्री खान दिने र त्यसपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने गोप्य सहमति भएको हो,’स्रोतले भन्यो ।

सरकार जोगाउन असाध्ये खटेका माओवादी केन्द्रका एक सांसदले पनि यस्तो सहमति भएको स्वीकार गरेका छन् ।

उनले नेपाल प्रेसलाई भने, ‘६ महिनापछि कांग्रेसका जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्नुहुनेछ । यही सर्तमा सरकारलाई ढल्नबाट बचाइएको हो ।’

विश्वासको मत दिए पनि आफू प्रतिपक्षमा नै बस्ने भन्दै आएको कांग्रेसभित्र अहिले मन्त्री कसलाई बनाउने भन्ने विवाद छ । सभापति शेरबहादुर देउवानिकट मानिने दल नेता शाही र रामचन्द्र पौडेलनिकट मानिने सार्वजनिक लेखा समितिका अध्यक्ष दिनवन्धु श्रेष्ठबीच विवाद भएको हो । कांग्रेसका ६ जना सांसदमध्ये शाही दल नेता, श्रेष्ठ लेखा समिति अध्यक्ष र हिमबहादुर शाही सचेतक छन् । अन्य सदस्यमा अमृता शाही, झोवा कामी र यज्ञबहादुर विसी छन् ।

‘तीनैजना नेताले जिम्मेवार पद पाइसक्नु भएका कारण अब मन्त्री बन्ने लाइनमा यज्ञबहादुर विसी अगाडि छन् । उनलाई नै मन्त्री बनाउने भनेर पहिल्यै सहमति भएको थियो,’ एक सांसद भन्छन् ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले यज्ञ विसीलाई मन्त्री बनाउन जीवन बहादुर शाहीलाई दबाब दिइरहेको ती सांसदले बताए । तर, दीनबन्धु श्रेष्ठ, हिमबहादुर शाहीले पनि आँखा लगाएका कारण मन्त्री बनाउने टुंगो नलागेको उनको भनाइ छ ।

माओवादी केन्द्रमा पनि विवाद

कांग्रेसभित्र विवाद बढेको बेला सत्तारुढ माओवादी केन्द्रमा पनि अन्तरद्वन्द्व चर्केको छ । दुईवटा मात्रै मन्त्रालय पाएको माओवादी केन्द्रले एक महिला मन्त्री नियुक्त गर्नुपर्ने छ । मन्त्री बन्नका लागि सांसदहरु गोपाल शर्मा, विन्दमान विष्ट, ठम्मर विष्ट र सीता नेपाली लाइनमा छन् ।

सांसद गोपाल शर्माले भने आफू मन्त्री बन्ने हतारोमा नभएको दावी गरे ।

तपाईं मन्त्री बन्दै हुनुहुन्छ रे नि ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘म मन्त्री बन्ने लाइनमा छैन । पार्टीलाई आवश्यक परेको समयमा मैले भूमिका निर्वाह गरेको हो । शुभेच्छाका लागि धन्यवाद ।’

उनले घुमाउरो भाषामा कांग्रेसलाई ६ महिनापछि मुख्यमन्त्री दिने गरी सम्झौता भएको स्वीकार गरे ।

‘नेकपा एमालेले कांग्रेसलाई मुख्यमन्त्री प्रस्ताव गर्न हुने, माओवादीले नहुने भन्ने छ र ?’ उनले प्रश्न गरे ।

कांग्रेसका सांसद एवम् सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले भने माओवादी र कांग्रेसबीच सहमति भएकोबारे अनभिज्ञता दर्शाएका छन् ।

‘मुख्यमन्त्रीसँग दलका नेताले के सहमति गर्नु भएको छ भनेर उहाँले जानकारी दिनु भएको छैन,’ श्रेष्ठ भन्छन्, ‘पार्टी केन्द्रले दललाई आवश्यकता हेरी सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्न अनुमति दिएको छ । हामी अहिले सल्लाहमै छौं ।’

यद्यपि उनले आफूहरू कमजोर दलको पक्षमा विश्वासको मत दिएको बताउँदै तत्काल सरकारमा जाने वा नजाने भन्ने विषयमा भने कुनै निर्णयमा नपुगिएको बताए ।

तर, मन्त्रीका आकांक्षीहरूले उनलाई दबाब दिइरहेका छन् ।


प्रतिक्रिया

One thought on “६ महिनापछि मुख्यमन्त्री छोड्ने सर्तमा कांग्रेसले शाहीलाई विश्वासको मत दिएको खुलासा

  1. प्रमाण सहित समाचार लेखौं, एक नेताले बताए, स्रोतले बतायो होइन बताउने नेताको नाम राखौं, एक नेताले बताए भनेपछि संवत् झुटो समाचार हो त्यसकारण सत्य समाचार लेखेर पत्रकारिताको धर्म पूरा गरौं। सरकार वा अर्को पक्षको हनुमान नबनौं।

Leave a Reply to ishwor thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर