प्रचण्डको दावी- मलाई संसारभरका जनताले चिन्छन्, तर घमण्ड गर्दिन – Nepal Press

प्रचण्डको दावी- मलाई संसारभरका जनताले चिन्छन्, तर घमण्ड गर्दिन

‘हिन्दीमा भाषण गर्दा तराईका जनताले आफ्नोपन फिल गर्छन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई संसारभरका मान्छेले चिन्ने दावी गरेका छन् । शान्ति प्रक्रियापछि नेपाल देशभन्दा बढी प्रचण्डलाई चिन्नेजस्तो अवस्था भएको उनले बताए ।

हिमालय टेलिभिजनसँगको एक अन्तर्वार्तामा प्रचण्डलाई उनले तराईमा हालै हिन्दीमा गरेको भाषणबारे सोधिएको थियो ।

‘तपाईंले हिन्दीमा भाषण गर्दै भारतमा केपी ओलीलाई भन्दा बढी मलाई चिन्छन् भन्ने दावी गर्नुभएको थियो, त्यसको आधार के हो ?’ अन्तरवार्ताकारले सोधेका थिए ।

जवाफमा प्रचण्डले भने, ‘भारतमा मात्रै होइन संसारभरका मान्छेले मलाई चिन्छन् । मैले घमण्ड गर्‍यो भन्ने लाग्ला । तर, म जनयुद्धबाट शान्ति प्रक्रियामार्फत गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि नेपाल प्रचण्डको नामबाट चिनिन थाल्यो भन्थे पत्रकारहरू । संसारभरका मान्छेले नेपालभन्दा बढी प्रचण्डलाई चिनेजस्तो भएको छ । एउटा मिथजस्तो क्या ।’

युद्धबाट शान्तिमा आएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न दुर्लभ सफलता आफूले पाएको भन्दै उनले आत्मसन्तोष प्रकट गरे ।

प्रचण्डले भने, ‘दुर्लभ मान्छेले प्राप्त गर्ने अवसर मैले प्राप्त गरेँ । यो अलि अनौठो नै छ । युद्ध पनि गर्ने, शान्ति पनि ल्याने, संविधान पनि बनाउने, गणतन्त्रको घोषणा पनि गराउने…कम्युनिस्ष्ट आन्दोलनको इतिहास हेर्नुभयो भने… तर एउटा वर्गलाई मान्यता दिन मन लाग्दैन । खिसिट्यूरी गर्छन् ।’

उनले अहिले स्वदेशी तथा विदेशी शक्तिहरु आफूविरुद्ध हात धोएर लागिरहेको दावी गरे ।

‘प्रचण्डलाई सिध्याउने मिसन चलिराख्या छ, त्यो भनेको परिवर्तनलाई सिध्याउने मिसन हो,’ उनले भने ।

हिन्दी भाषणको बचाउ

प्रचण्डले हालै तराईका जिल्लामा गएर हिन्दीमा भाषण गरेको विषयमा पनि बचाउ गरे । स्थानीय जनताको चाहना अनुसार आफूले हिन्दीमा भाषण गर्ने गरेको उनको भनाइ थियो । हिन्दीमा भाषण गर्दा तराइका जनताले आफ्नोपन फिल गर्ने उनले दावी गरे ।

प्रचण्डले भने, ‘म स्थानीय चुनावका क्रममा २ नम्बर प्रदेशमा जाँदा बारम्बार हिन्दीमा भाषण गरेको हुँ । हिन्दीमा भाषण गर्दा तराइका जनताले आफ्नोपन फिल गर्छन् भनेर साथीहरूले जोडबल गर्नुहुन्छ । अस्ति पनि सहयोद्धा साथीहरूले हिन्दीमा बोलिदिनुस्, जनताले रुचाउँछन् भन्नुभयो अनि बोलेको हुँ । पहिले हिन्दीमा बोल्दा आलोचना भएन, अहिले किन भएको हो मैले बुझ्न सकेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर