जसपाको माइन्युट उपेन्द्रको घरमा, खाली कागजमा बहुमत सदस्यको हस्ताक्षर – Nepal Press

जसपाको माइन्युट उपेन्द्रको घरमा, खाली कागजमा बहुमत सदस्यको हस्ताक्षर

उपेन्द्रसँग भड्किएका सांसद बाबुरामले समेट्दा महन्थ पक्ष अल्पमतमा

काठमाडौं । संघीय संसदको चौथो ठूलो र सत्ता समीकरणमा निर्णायक मानिएको दल राष्ट्रिय जनता पार्टी (राजपा) विभाजन प्रक्रियामा अघि बढेको छ । लुम्बिनीका चार सांसदलाई उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सुटुक्क बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरको निर्णय पठाएर पदमुक्त गरेपछि पार्टी विभाजनमा अघि बढेको हो ।

आधिकारिकता नबुझी लुम्बिनी प्रदेशका सभामुख पूर्णवहादुर घर्तीले ६ सदस्यीय संसदीय दलका चारजनालाई पदमुक्त गर्ने प्रक्रिया नै गलत रहेको भन्दै यसलाई कानुनी चुनौति दिने महन्थ ठाकुर-राजेन्द्र महतो पक्षको तयारी छ । स्वयं पदमुक्त भएका सांसदहरु अदालत जाने भएका छन् ।

संघीय सरकारमा केपी ओलीसँग वार्ता गरेर १२० जना मधेश आन्दोलनका नेता कार्यकर्ताको मुद्दा फिर्ता गराउन सफल भएको महन्थ ठाकुर पक्षले यसलाई ठूलो उपलब्धीका रुपमा लिएको छ । ठाकुर पक्ष ओलीको विकल्प खोज्ने पक्षमा छैन ।

बाबुराम-उपेन्द्र पक्ष तत्कालै ओलीलाई सत्ताच्यूत गर्ने मनस्थितिमा छन् । यो लडाइँको शिकार लुम्बिनी प्रदेशका चार सांसद भएका छन् । पटक पटक अविश्वास प्रस्तावको पक्षमा जान आग्रह गरे पनि ठाकुर तयार नभएपछि बाबुराम र उपेन्द्रले ५१ सदस्यीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षर खाली कागजमा गराएका छन् ।

स्रोतका अनुसार यो कागज पार्टीमा अर्को पक्षका नेता तथा सांसदहरुलाई कारवाही गर्ने, केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि प्रयोग गर्ने प्रयोजनका लागि भएको हो ।

स्रोतका अनुसार गत मंगलवार केन्द्रिय पार्टी कार्यलय वालकुुमारीमा जसपाका शीर्ष पाँच नेताको बैठक बस्दा उपेन्द्र यादवले तत्काल केन्द्रीय कार्यकारणी समितिको बैठक बोलाउन माग गरेका थिए ।

तर ठाकुर र महतोले कोराना संक्रमणका कारणमा काठमाडौंमा विहीवारदेखि निषेधाज्ञा लागेकाले खुलेपछि मात्रै बैठक गर्नु पर्ने आफ्नो भनाई राखेका थिए ।

त्यसपछि ठाकुर र महतोसहित अन्य पदाधिकारी हिँडे । ठाकुर पक्ष हिँडेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यलयमै आफना निकट कार्यकारिणी समिति सदस्यहरु बोलाएका थिए ।

यादवले कार्यकारणी सदस्यहरुलाई सादा कागजमा हस्ताक्षर गराउदै उक्त हस्ताक्षर लुम्बिनी प्रदेशका चार सांसदको कारवाही र केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काग्रेस माओवादी संग मिलेर अविश्वास प्रस्ताव ल्याउन प्रयोग गर्ने बताएका थिए ।

यस अघि यादवले संसदीय दलको कार्यलयवाट जसपाको संसदीय दलको माइन्युट पनि गुपचुप रुपमा लगेर आफूसँगै राखेको जसपा स्रोतले जनाएको छ । मंगलवार यादवले कति जना कार्यकारणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेका थिए भन्ने प्रष्ट खुलेका छैन ।

तर उनी पक्षका नेताहरुले २८ देखि ३३ जना सम्मको हस्ताक्षर संकलन गरिएको दावी गरेका छन । जसपाको कार्यकारणी समिति अहिले ५१ सदस्यीय छ । साबिक राजपाका २६ र समाजवादीका २५जना समेटेर बनाइएको कार्यकारिणी समितिका महेन्द्र यादव पक्षधर तीन जना अहिले उपेन्द्रतिर लागेका छन् ।

गत वर्ष यसैबेला उपेन्द्र यादवसँग अशन्तुष्ट भएर अलग हुन चाहेका रेणु यादव, प्रदीप यादव, इस्तियाक राई लगायतलाई सहज बनाइदिन ओलीले राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएका थिए । तर त्यसको आफनै पार्टीबाट चर्को विरोध भएपछि फिर्ता लिएका थिए ।

यादव पक्षका त्यसबेलादेखिनै असन्तुष्ट रहेका सांसदहरुलाई बाबुराम भट्टराईले यसबीचमा धेरै मेहनत गरेर महन्थ ठाकुरको पक्षमा लाग्नबाट रोकेको जसपा नेताहरु बताउछन् । उपेन्द्र यादवसँग उनीहरु अशन्तुष्ट रहे पनि बाबुरामले समेटेका कारण संसदीय दल र कार्यकारिणी समितिमा उपेन्द्र बाबुराम पक्ष बहुमत रहेको छ ।

साबिक समाजवादी पार्टीका सबै सांसदलाई बाबुरामले समेटेको र साबिक राजपाका महेन्द्र यादव पक्षधर पनि बाबुराम उपेन्द्रतिर लागेका कारण ठाकुर पक्ष अल्पमतमा परेको छ । यहि मौकामा लुम्बिनीका सांसदलाई कारवाही गर्ने र दबाबमा पारेर अ‍ोलीविरुद्ध अविश्वास प्रस्तावमा सहमत गराउने प्रयास बाबुराम उपेन्द्रको छ ।

तर ठाकुर पक्षले लुम्बिनी प्रकरण पार्टी विभाजनको बिजारोपण भन्दै पार्टीको प्रथम अध्यक्षको हैसियतमा महन्थ ठाकुरले बोल्ड निर्णय गर्ने दावी गरेको छ । त्यो भनेको थप क्षति हुनुअघिनै पार्टी एक वर्षअघिकै अवस्थामा फर्काउने हो । जसपा एकीकरण निर्वाचन आयोगमा बाहेक अन्यत्र भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर