दिपक मनाङे : ‘हाननीय’ देखि ‘माननीय’ सम्म – Nepal Press

दिपक मनाङे : ‘हाननीय’ देखि ‘माननीय’ सम्म

काठमाडौं । हेर्दाहेर्दै पूर्व गुण्डानाइके दिपक मनाङे उर्फ राजीव गुरुङ मन्त्री बनेका छन् । गण्डकी प्रदेशमा सत्ताको छिनाझप्टी खेल उत्कर्षमा पुग्दा मनाङेलाई मन्त्री पदको चिठ्ठा परेको हो ।

गण्डकी सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान हुने दिन हिजो मनाङे संसदमा अनुपस्थित भएका थिए । अविश्वास प्रस्तावको पक्षमा भोट हाल्ने बताएका उनी मोबाइल स्वीच अफ गरेर अलप भएपछि कुनै पुरस्कार पाउने लख काटिएको थियो । नभन्दै उनले भोलीपल्टै मन्त्री पदको सपथग्रहण गरे ।

नेपालमा अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु राजनीतिमा आएर माथिल्लो ओहदामा पुगेका उदाहरणको कमी छैन । ६ जनाको ज्यान जाने गरी भएका बम विष्फोटका प्रमुख अभियुक्त बबनसिंह देखि टिकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरीसम्म चुनाव जितेर माननीय भएको देश हो । तर, उनीहरुभन्दा अघि बढेर दिपक मनाङेले सांसद मात्र होइन मन्त्री नै पड्काएका छन् ।

गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्रालयको बागडोर पाएका मनाङेसँग त्यहाँका जनतालाई सायदै केही आशा होला । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मनाङेमा कुनै ‘पोटेन्सियल’ देखेर मन्त्री बनाएका अवश्य होइनन् । प्रदेशसभामा एक भोटका लागि उनले यो अलोकप्रिय निर्णय लिएको प्रष्टै छ ।

हाननीयदेखि माननीयसम्म
दिपक मनाङे नेपालीहरुले धेरै समयदेखि सुन्दै आएको नाम हो, तर असल कारणले होइन । राजनीतिमा आउनुअघिसम्म उनी ‘गुण्डानाइके’ का रुपमा परिचित थिए ।

५० को दशकदेखि काठमाडौंको ठमेल केन्द्रित गतिविधिबाट उनी चर्चामा आएका हुन् । ०५०-५१ सालतिर उनी ठमेलका होटल-रेस्टुरेन्टहरुमा हप्ता असुली गर्थे । ठमेलका रेस्टुरेन्ट व्यवसायीबाट  सलामी उठाउने क्रममा मनाङे पटक–पटक पक्राउ परे र छुटे ।

गुण्डागर्दीसँगै मनाङेले ठेक्कापट्टादेखि मनोरञ्जन क्षेत्रमा विभिन्न व्यवसाय गरेका थिए । जली पव डिस्कोबाट उनी यो क्षेत्रमा छिरेका हुन् । तर, त्यसमा उनले प्रत्यक्ष लगानी नगरी सलामी सेयर लिएका थिए । उनले होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालन गरेर राम्रै आम्दानी गरे । केहीलाई रोजगारी पनि दिए ।

गुण्डागर्दी तथा व्यवसायका क्रममा अर्का गुण्डानाइके चक्रे मिलनसँग मनाङेको दुश्मनी सुरु भएको थियो । २०६१ सालमा चक्रे मिलनलाई धारिलो हतियारले प्रहार गरेको अभियोगमा पक्राउ परेका मनाङे केही समय जेल बसेर छुटेका थिए । ग्याङ फाइटका क्रममा मनाङेले चक्रेको हात छिनाइदिएका थिए ।

सोही मुद्दामा २०६९ साल साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई  पाँच वर्ष जेल सजाय सुनाएको थियो । तर, लामो समय गोप्य राखिएको फैसला पाँच वर्षपछि २०७४ साल माघ २ गते सार्वजनिक भयो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
अन्ततः २०७५ वैशाख ६ गते उनी पक्राउ परे, जतिबेला उनी चुनाव जितर गण्डकी प्रदेश सभाको सांसद बनिसकेका थिए । उनलाई स्वयम्भूको तीनधारा क्षेत्रबाट पक्राउ गरिएको थियो । २०७५ साल पुस ५ गते सर्वोच्चको आदेशमा उनी रिहा भए । त्यसपछि उनले प्रदेश सभा सदस्यको सपथ खाएका हुन् ।

संरक्षणको खोजीमा पार्टी चहार्दै
गुण्डागर्दीका क्रममा बारम्बार पक्राउ पर्ने र छुट्ने भएपछि मनाङेले राजनीतिक संरक्षणको खोजी गर्न थाले । त्यसक्रममा उनले अहिलेसम्म उनले चारवटा पार्टी चहार्न भ्याइसकेका छन् ।

सुरुमा केही समय उनलाई राप्रपाका पशुपति शम्शेर राणाले ओत दिए । उनी राणाका बडीगार्ड समेत बनेका थिए । तर, राणाबाट साथ पाउन छोडेपछि मनाङे कांग्रेसका किशार सिंह राठौरसँग नजिक भए । राठौरमार्फत उनी तरुण दलका गतिविधिमा सक्रिय हुन थाले । काठमाडौंमै बसेर लामा समय तरुण दल मनाङको सभापति भए ।

२०६३ सालको परिवर्तन पछि लक्ष्मण थारुले माओवादी छाडेर अलग मोर्चा बनाएसँगै मनाङे उनका पछि लागे । तर, लक्ष्मणसँगको सहकार्य पनि पाँच वर्षभन्दा बढी टिकेन । अन्तमा उनी एमालेको छत्रछायाँमा पुगेका थिए ।

मंसिरमा सम्पन्न प्रदेशको चुनावमा उनले एमालेबाट टिकट पाउन प्रयास गरेका थिए । तर नपाएपछि उनी स्वतन्त्र चनाव लडे र जिते पनि । मनाङ प्रदेश सभा क्षेत्र ख बाट स्वतन्त्र उम्मेदवारका रुपमिा उनी विजयी भएका हुन् । सो क्षेत्रमा उनलाई नेकपा एमालेले समर्थन गरेको थियो ।
मनाङे एक हजार चार सय १० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *