निषेधाज्ञाको होड : ११ जिल्ला पूर्णरुपमा बन्द, शुक्रबारबाट ४ जिल्ला थपिँदै – Nepal Press

निषेधाज्ञाको होड : ११ जिल्ला पूर्णरुपमा बन्द, शुक्रबारबाट ४ जिल्ला थपिँदै

काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । विहीबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये ११ जिल्ला पूर्णरुपमा बन्द छन् भने थप ४ जिल्लामा निषेधाज्ञा लगाउने तयारी छ ।

गृह मन्त्रालयका अनुसार दाङ, पाल्पा र सुनसरी जिल्लामा निषेधाज्ञानको तयारी भएको हो । शुक्रबार बिहान ६ बजेदेखि दाङमा, शुक्रबार राती १२ बजेदेखि पाल्पा र सुनसरीमा पनि निषेधाज्ञा जारी हुने मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले जानकारी दिए । यस्तै १९ गते आइतबार बिहान ६ बजेदेखि सल्यानमा पनि निषेधाज्ञा जारी हुनेछ ।

पूर्णरुपमा निषेधाज्ञा लागेका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, चितवन र रुपन्देही  छन् । यसैगरी, बागलुङ, कालिकोट र बर्दियामा आंशिक निषेधाज्ञा लागू भएको छ ।

बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४, साविक आमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा छ । यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिका ११ रेङगिलमा निषेधाज्ञा जारी गरिएको छ । बर्दियाको गुलरिया नगरपालिकास्थित ५ र ६ नम्बर वडाका सबै क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको बगनाहा, भूरीगाउँर ठाकुरद्धारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका प्रवक्ता दाहालका अनुसार अहिलेसम्म निषेधाज्ञा जारी भएका जिल्लामध्ये बाँकेमा २० गतेसम्म, सुर्खेत र कास्कीमा २१ गतेसम्म, काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा र कञ्चनपुर २२ गतेसम्म जारी रहने छ । शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा लाग्ने दाङमा २५ गतेसम्म, शुक्रबार राती १२ बजेदेखि पाल्पामा लाग्ने निषेधाज्ञा २४ गतेसम्म जारी रहने उनले बताए ।

बैशाख ७ गतेदेखि आंशिक निषेधाज्ञा लगाइएको बागलुङ र बैशाख १० गतेबाट आंशिकरुपमा निषेधाज्ञा लगाइएको कालिकोटमा शुक्रबार म्याद सकिँदैछ । बर्दियामा पनि बैशाख १३ गतेबाट लगाइएको आंशिक निषेधाज्ञा १९ गते सकिँदैछ । थप गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।

यस्तै पूर्णरुपमा आजबाट निषेधाज्ञा लगाइको रुपन्देहीमा ३० गतेसम्म, आजैबाट पूर्णरुपमा निषेधाज्ञा लगाइएको चितवनमा ३१ गतेसम्म र १९ गते आइतबारबाट निषेधाज्ञा लगाइने सल्यानमा जेठ २ गतेसम्म जारी रहनेछ ।

गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गर्दै आएका छन् ।

आज बिहान मात्रै गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै निषेध आदेशको अवधिभरी अति आवश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सार्वजनिक अपिल गरेको छ । मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेका कारण यस विषम परिस्थितिको सामना गर्न सबै सरोकारवालाको सहयोग एवम सहकार्य पनि जरुरी रहेको जनाएको छ ।

सरकारले जारी गरेका निर्देशन एवम स्वास्थ्य मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी निषेध आदेशको पूर्ण रुपमा पालना गरी संक्रमण फैलन नदिन सवै पक्षलाई सहयोग गर्न मन्त्रालयले अनुराेध गरेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर