सुदूरपश्चिममा एकैदिन ११ संक्रमितको मृत्यु, उपचार नपाएर मृत्युवरण गर्ने बढे – Nepal Press

सुदूरपश्चिममा एकैदिन ११ संक्रमितको मृत्यु, उपचार नपाएर मृत्युवरण गर्ने बढे

कतै भेन्टिलेटर, कतै आइसियु अभाव त कतै भएका पनि थन्किए

कैलाली । सुदूरपश्चिम प्रदेशमा बिहिबार मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जसमा कैलालीका ६, कञ्चनपुरमा ३, बझाङ र अछाममा एक-एक जनाको मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका १२ का २८ वर्षका पुरुष, वडा नम्बर १० का ६० वर्षका पुरुष, लम्की चुहा नगरपालिका २ का ३३ वर्षका पुरुष, गोदावरी नगरपालिकाका का ८७ वर्षका महिला, धनगढी उपमहानगरपालिका ३ का ४५ वर्षका र वडा नम्बर ४ का ४० वर्षका एक पुरुषको मृत्यु भएको हो ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका १९ का २१ वर्षका पुरुष, वडा नम्बर १८ का ३६ बर्सिया महिला र दोधारा चाँदनी नगरपालिकाका ३० वर्षका पुरुषको महाकाली अस्पतालमा मृत्यु भएको छ ।

बझाङमा पनि जिल्ला अस्पतालमा उपचाररत मस्टा गाउँपालिका–५ का ५५ वर्षका पुरुष बिहीबार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए । अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ का ७७ वर्षका लोकराज ढुङ्गानाको मृत्यु भएको जनाइएको छ ।

उपचार नपाएर मृत्युवरण गर्न बाध्य संक्रमित

कैलाली गोदावरी नगरपालिकाका ८७ वर्षका महिलालाई बुधवार उनका आफन्तले स्वास्थ्यमा समस्या भएको भन्दै अस्पताल पुर्याएका थिए । कोरोना अस्पतालमा बेड अभाव भएपछि उनका परिवारले घरमै लगेपछि बिहीबार ती महिलाको घरमै मृत्यु भएको हो ।

१४ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका धनगढी ३ का २८ वर्षका महिलाको पनि इमरजेन्सीमा राखेर उपचार भइरहेको थियो । इमरजेन्सीमा उपचार भइरहेको भए पनि ति महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ८ प्रतापपुरका ४७ वर्षका पुरुषको पनि समयमा अक्सिजन नपाउँदा ज्यान गुमेको छ । जिल्लामा आइसियु समेत नहुँदा उपचारको लागि कोहलपुर लैजाँदै गर्दा बझाङबाट जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षका पुरुषको बाटोमै मृत्यु भएको हो । बझाङबाटमा आइसियु र भेन्टिलेटरक भए पनि प्रयोग नहुँदा उनको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा पर्याप्त जनशक्ति, उपकरण र संक्रमितको लागि अस्पताल नहुँदा मृत्युदर बढ्न थालेको छ । कञ्चनपुरस्थित महाकाली अस्पतालमा ६ शय्याको आइसियु र ६ शय्याकै भेन्टिलेटर छ । ५० शय्याको कोरोना अस्पतालमा ३० शय्या थप गरेर ८० शय्या पुर्याएको छ । तर जटिल संक्रमितका लागि त्यहाँ पनि समस्या छ ।

दोस्रो लहरको कोरोनाबाट जटिल संक्रमित थपिएको हुँदा अस्पतालमा बेड अभाव भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए । ‘अहिले एउटा संक्रमितको मृत्यु पछि हामीले बेड पाउँछौँ होला भन्दै अरू संक्रमितले कुर्नुपर्ने अवस्था सृजना भएको छ’ उनी भन्छन् ‘हामी थप जटिल संक्रमित राख्न सक्ने अवस्थामा छैनौँ ।’ भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितका लागि धनगढी नेपालगन्ज वा काठमाडौँ रेफर गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

कैलालीको सदरमुकाम धनगढीमा पनि सबै बेड भरिएका छन् । ५५ शय्याको अस्पतालमा ५७ जनाको उपचार भइरहेको छ । ती मध्ये भेन्टिलेटरमा ३, आइसियुमा ९, अक्सिजनसहित ३५ र मोड्रेटमा १० जनाको उपचार भइरहेको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । उनले थप सङ्क्रमितलाई राख्न सकिने अवस्था नरहेको बताए । ‘सबै बेड भरिएको छ, थप संक्रमित राख्न सकिने अवस्था छैन’ उनले भने ।

५० शय्याको कोरोना अस्पतालमा कोचाकोच गरेर थपिएका ५५ शैय्यामा १० वटा आइसियु र ३ वटा भेन्टिलेटर मात्रै छन् । तर आइसियु र भेन्टिलेटरका लागि २० जना भन्दा बढी बिरामी लाइन कुरेर बसिरहेका छन् ।

२०६८ सालको जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको जनसंख्या २५ लाख छ । ती २५ लाख जनसंख्याको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल हो । तर त्यहाँ पनि पर्याप्त उपकरण नहुँदा संक्रमितलाई समस्या परेको छ । संक्रमित बढिरहेका कारण बिरामी राख्ने ठाउँ छैन् । सेती अस्पतालका वरिष्ठ फिजिसियजन डा.शेरबहादुर कमर भन्छन् ‘संक्रमितले उपचार नै नपाउलान् कि भन्ने चिन्ता छ ।’

पहिलो चरणको कोरोनापछि पनि प्रदेश सरकारले उपचार र जनशक्तिमा ध्यान नदिँदा अहिले सुदूरपश्चिम प्रदेशमा समस्या निम्तिएको जनस्वास्थ्य विज्ञको भनाइ छ ।

प्रयोग विहीन उपकरण
कैलालीको सेती अस्पतालमा १०, महाकाली अस्पतालमा ५, जिल्ला अस्पताल डोटी र डडेल्धुरामा २÷२ भेन्टिलेटर छन् । यी ४ जिल्लामा भेन्टिलेटर र आइसियुको अभाव खड्किएको बेला भएका जिल्लामा भेन्टिलेटर र आइसियु जडान भएको छैन् ।

पहाडी जिल्लामा पनि भेन्टिलेटर र आइसियु छन् । तर, जनशक्ति नहुँदा प्रयोगमा नआएको अवस्था छ । बैतडीमा २ वटा भेन्टिलेटर विगत ६ महिनादेखि प्रयोग विहीन अवस्थामा रहेको अस्पतालमा प्रमुख डा. वसन्त जोशीले जानकारी दिए ।

जिल्ला अस्पताल अछाममा रहेको २ वटा भेन्टिलेटर पनि अहिले प्रयोगमा आउन सकेको छैन् । कोरोनाका जटिल बिरामी भर्ना हुन आए रिफर गर्नुको विकल्प नरहेको जिल्ला अस्पताल अछामका प्रमुख डा. अतुल भारद्धावाजले जानकारी दिए ।

‘अक्सिजन प्लान्ट र दक्ष जनशक्ति नहुँदा भएको भेन्टिलेटर पनि प्रयोग भएको छैन’ उनले भने ‘अहिले जटिल प्रकारका संक्रमितलाई अन्यत्रै रिफर गर्ने पर्ने बाध्यता छ ।’ जटिल प्रकारका संक्रमित थपिँदै गर्दा भएका उपकरण पनि प्रयोगमा नआउँदा थप समस्या भएको चिकित्सकको ठहर छ ।

‘सामान खरिद गरेर मात्रै हुँदैन । यसको प्रयोग गर्नुपर्छ, उपकरण भएर पनि प्रयोग नहुँदा संक्रमिताई बचाउन कठिन हुन सक्छ’ वरिष्ठ फिजिसियन डा.कमरले भने । पहाडी जिल्लामा भेन्टिलेटर रहे पनि चलाउन जान्ने जनशक्ति नहुँदा प्रयोग नभएको उनले बताए । अक्सिजन नहुँदा पनि भेन्टिलेटर थन्किएको उनको भनाइ छ । उनले भने, ‘कुनै बेला महामारी होला भनेर पूर्व तयारी हुनुपर्ने हो तर, त्यस्तो भएको पाइँदैन, त्यसैले यस्तो बेला मृत्युदर बढ्ने गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर