रुपन्देहीको निषेधाज्ञा कडा, सडक-बजार सुनसान – Nepal Press

रुपन्देहीको निषेधाज्ञा कडा, सडक-बजार सुनसान

रुपन्देही । सक्रिय कोरोना संक्रमित २ हजार नाघेपछि आजदेखि रुपन्देहीमा जारी गरिएको निषेधाज्ञा कडा ढंगमा लागू गरिएको छ ।

अत्यावश्यक कामबाहेक हिंडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहानैदेखि मुख्य सहर बुटवल, भैरहवा, मुर्गिया, देवदह, तिलोत्तमालगायतका क्षेत्र सुनसान छन् ।

मानिसहरुको आवतजावत र जमघट हुन नदिन सहरका मुख्य सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ । सधैंजसो बिहानैदेखि मजदुरी गर्न हिंड्ने मानिस र सडकमा व्यापार गर्नेहरु पनि बाटोमा देखिएका छैनन् ।

बुटवलमा हाटबजारमा निषेधाज्ञाको अवज्ञा गर्दै खुलेका केही कपडा पसलहरु बुटवल उपमहानगरपालिकाको नगर प्रहरीले बन्द गराएको छ । मिलनचोक र बसपार्कमा खुलेका केही पसलहरु पनि सुरक्षाकर्मीले बन्द गराएका छन् ।

बुटवलको बसपार्क पछाडि देखिएको मानिसहरुको चहलपहललाई रोक्न खोजिरहेका प्रहरीले ई-रिक्सा, रिक्सा र सामान्य हिडडुल समेत रोक्न आफूहरुलाई निर्देशन आएको बताए ।

सुरक्षाकर्मीका प्रयासका बावजुद बुटवलका भित्री सडकमा भने केही ई-रिक्सा तथा रिक्साहरु यात्रु बोकेर हिडिरहेका छन् । ती बाहेक दुध, तरकारी तथा औषधी पसलहरु सञ्चालन भइरहेका छन् ।परिचयपत्र बोकेका अत्यवश्यक कामदारलाई भने आवतजावतमा रोकिएको छैन ।

अलपत्र परेकाको उद्दार गर्न आग्रह

धरानबाट परीक्षा दिएर गुल्मी सिमलटारी जान फर्किएका प्रकाश अर्यालले बाटोमा अलपत्र परेको गुनासो गरे । ‘बिहानदेखि बुटबल वसपार्कमा आएको र गाडी नपाएर अब हिंडदै जाने योजना बनाएको छु’, उनले भने, ‘हामीहरुको पीडा कसले बुझ्ला र खै, आफूसँग भएको पैसा नि सकिन थाल्योे, यता बस्ने ठाउँ नि छैन ।’ एक्कासी भएको बन्दाबन्दीले समस्यामा परेको उनको गुनासो थियो ।

नवललपरासीबाट प्युठानको टिमुरचौर जान लागेका कमल खत्री पनि बसपार्कमा गाडी नपाएर कुरिरहेका थिए । नवलपरासीमा परीक्षा सकाएर घर फर्कन योजनाका साथ आए पनि गाडि नपापछि समस्यामा परेको उनले बताए । उनीहरुले गन्तव्यसम्म पुग्ने वातावरण बनाइदिन प्रशासन र स्थानीय सरकारसँग माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर