हवाईमार्गबाट यात्रा गर्ने बढे, काठमाडौं आउने र छाड्ने बराबरी जस्तै – Nepal Press

हवाईमार्गबाट यात्रा गर्ने बढे, काठमाडौं आउने र छाड्ने बराबरी जस्तै

दुई दिनमा हवाई मार्गबाट ३४ हजार यात्रुले गरे यात्रा

काठमाडौं । सरकारले निषेधाज्ञा घोषणा गरेसँगै आन्तरिक उडानबाट यात्रा गर्नेकोसङ्ख्या बढेको छ । तथ्यांकअनुसार मंगलबार र बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानमार्फत् ३४ हजारले यात्रा गरे ।

विमानस्थलका अनुसार मंगलबार १९ हजारले आन्तरिक उडान भरे बुधबार करिब १५ हजारले यात्रा गरे । उडानमार्फत् काठमाडौं आउने र छाड्ने बराबर जस्तै छन् । बुधबार काठमाडौंबाट ७ हजार ८६० यात्रुले काठमाडौं छोडे छन् भने ७ हजार ४०३ भित्रिएको नागरिक उड्ययन प्राधिकरण (क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार सरकारले निषेधाज्ञा जारी गर्नुपूर्व दैनिक ९-१० हजार यात्रुले मात्र हवाईमार्ग हुँदै आन्तरिक यात्रा गर्ने गरेका थिए ।

उनका अनुसार अहिले हवाईयात्रा गर्ने यात्रुको संख्या गत वर्षको कोरोनाको पहिलो लहरपछिको सबैभन्दा धेरै हो । हवाई कम्पनीका अनुसार आन्तरिक उडान भर्ने कम्पनीले यात्रुको चाप बढेसँगै थप उडान पनि भरेका थिए ।

केही दिन अघिसम्म सस्तो हवाई टिकटमा यात्रा गरिरहेका यात्रुले दुई दिनमा महङ्गो रकम तिर्न वाध्य भए । आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनीले उडान भरेका हुन् ।

केही दिनअघि सरोकारवालाबीचको छलफलले अरुको तुलनामा हवाई क्षेत्र सुरक्षित भएकाले स्वास्थ्य मापदण्ड अपनाएर यात्रुलाई गन्तव्यसम्म पुर्याउने निष्कर्ष निकालेका थिए ।

हवाईमार्ग बन्द नभएको तर स्थलमार्ग बन्द गर्ने सरकारी निर्णयप्रति यातायात व्यावसायीले आक्रोश पोखेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सचिव सरोज सिटौला भन्छन्, ‘स्थालमार्गमा चल्ने यातायातलाई सौतेनी व्यवहार गर्नु भएन । हामी सबै सुरक्षाका मापदण्ड अपनाउन तयार छौं । हामीलाई पनि सार्वजानिक यातायात खोल्न दिनु पर्‍यो ।’

विमानस्थलबाट गन्तव्यमा पुग्न कठिन

हवाईमार्गबाट विमानस्थल पुगे पनि स्थलमार्गमा चल्ने सवारीसाधन नहुँदा यात्रुलाई गन्तव्यमा पुग्न कठिन भएको छ । क्यानका प्रवक्ता क्षेत्रीले विमानस्थलबाट यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन साझा आग्रह गरिएको तर कुनै प्रतिक्रिया नआएको बताए ।

विमानस्थलमा अवतरण गरेका यात्रुलाई गन्तव्यसम्म पुर्याउने विकाल्प दिनुपर्ने उनको तर्क छ । उनी भन्छन्, ‘यात्रुलाई विमानस्थलमा अलपत्र पार्ने कुरा हुँदैन । यसबारे सरकारले नै एउटा निर्णय लिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *