राजमो सांसद शाहीको प्रष्टीकरण : बन्धक बनाइएको होइन, बेहोस भएर अस्पताल गएको हुँ – Nepal Press

राजमो सांसद शाहीको प्रष्टीकरण : बन्धक बनाइएको होइन, बेहोस भएर अस्पताल गएको हुँ

पोखरा । गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदानको संघारमा बेपत्ता भएका भनिएका बाग्लुङका सांसद खेमविक्रम शाहीले आफू बिरामी भएका कारण अस्पताल गएको प्रष्टोक्ति दिएका छन् ।

कतिपयले उनलाई बन्धक बनाई अस्पताल पुर्‍याएको भनेर आशंका गरेका बेला यसबारे प्रष्ट पार्न बिहीबार एक विज्ञप्ति जारी गर्दै शाहीले सदनमा जाने भनि तयारी गरिरहेका बेला अचानक बिरामी भएकाले अस्पताल गएको बताएका छन्।

‘सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएँछु,’ शाहीको भनाइ छ, ‘म अहिले उपचाररत छु। हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु।’

शाहीले आफूबारे विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालमा आएका खबरका आधारमा धारणा नबनाउन आग्रह गरेका छन् । ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरि दिनु हुन म सम्पूर्ण दाजुभाई दिदीबहिनी र मेरा शुभचिन्तकहरूमा प्रष्ट पार्न चाहान्छु,’ उनले भनेका छन् ।

उनले पार्टीको र संसदीय दलको बैठकले गरेका निर्णयमा आफू पनि सहभागी भएको र ती निर्णयमा आफ्नो सहमति कायम रहेको प्रष्ट पारेका छन् । शाहीले भनेका छन्, ‘साथै पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरूप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्वता कायमै छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर