भारतलाई सहयोग गर्न प्रियंका चोपडाको आग्रह, भन्छिन्- अहिले भारतलाई तपाईँको खाँचो छ – Nepal Press

भारतलाई सहयोग गर्न प्रियंका चोपडाको आग्रह, भन्छिन्- अहिले भारतलाई तपाईँको खाँचो छ

दिल्ली । पछिल्लो महिना भारत कोरोनाभाइरसको हटस्पट बनिरहेको छ । दैनिक मृत्युदर ३ हजार नाघेको छ । अक्सिजन लगायतका स्वास्थ्य सामाग्री अभावले स्वास्थ्य प्रणालीलाई चुनौति दिइरहेको छ । यो परिस्थितीमा भारतको लागि सहयोगी अन्तर्राष्ट्रिय हात पनि जुटेका छन् ।

यसैक्रममा भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो मुलुक भारतलाई सहयोग गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छिन् । सामाजिक सञ्जालहरुमा पोस्ट गरेको भिडियोमा उनले भारतको गम्भीर अवस्थाको वर्णन गर्दै सहयोगका लागि अनुरोध गरेकी हुन् ।

उनी भन्छिन् – ‘म लन्डनमा छु । भारतको अस्पताल कोभिडका बिरामीले भरिभराउ भएको खबर सुनिरहेकी छु । आइसीयु खाली छैन । एम्बुलेन्स उस्तै अस्तव्यस्त छन् । अक्सिजन अभाव छ । अत्यधिक मृत्युले शव जलाउन हम्मेहम्मे परेको छ ।’

‘भारत मेरो घर हो र अहिले त्यहाँको अवस्था नाजुक छ’ उनले भिडियोमा भनेकी छिन् ।

भारतको अहिलेको स्थितीप्रति विश्व समुदायले ध्यान दिनु जरुरी भएको चोपडाको भनाई छ । ‘किनभने त्यहाँ सहयोगको खाँचो छ । जबसम्म कोही सुरक्षित हुँदैन अरु पनि सुरक्षित हुन सक्दैनन् । त्यसैले आफ्नो स्रोत र शक्तिको प्रयोग गरेर यो महामारीलाई रोकौं’ उनले भनेकी छिन् ।

‘अहिले भारतलाई तपाईंको खाँचो छ’ उनले भनिन् ।

भारतलाई सहयोग गर्न चाहनेका लागि उनले गिभ इन्डिया फन्ड पनि स्थापना गरेकी छिन् । ‘तपाईंको सानो सहयोगले ठूलो फरक पार्नेछ । ६३ लाख बढीले मलाई फलो गर्नुभएको छ । एक लाखले मात्रै १० डलर सहयोग गर्नुभयो भने १० लाख हुन्छ’ उनले इन्स्टाग्राममा लेखेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *