जनमोर्चाले भन्यो- मतदानका बेला सांसद शाहीको अनुपस्थिति रहस्यमय – Nepal Press

जनमोर्चाले भन्यो- मतदानका बेला सांसद शाहीको अनुपस्थिति रहस्यमय

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाको बुधवारको बैठकमा भएका घटनाक्रमलाई अश्वभाविक भन्दै आफ्नै पार्टीका सांसद खिमविक्रम शाहीको कोरोना पोजेटिभ रिपोर्टप्रति सन्देह व्यक्त गरेको छ ।

जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै सांसद शाहीको मतदानको बेलामा भएको अनुपस्थिति रहस्यमय रहेको बताएकी छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन आएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौं ।’

जनमोर्चाले सांसद शाहीलाई भेट्न नदिइएको र एक प्रकारले बन्दीका रुपमा राखिएको भन्दै अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । शाहीको स्थितिबारे थप सूचना प्राप्त भएपछि जानकारी गराउने जनमोर्चाले जनाएको छ ।

गण्डकी प्रदेश सभामा बुधवार अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । तर जनमोर्चाका सांसद शाही अनुपस्थित भएपछि सोही दलकी सचेतक पियारी थापाले शाहीको अवस्था सार्वजनिक नभएसम्म बैठकको कारवाही अघि नबढाउन सभामुख समक्ष निवेदन दिएकी थिइन् ।

उनको सोही निवेदनका आधरमा सभामुखले सूचना टाँसेर बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । सांसद शाही भने चरक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

उनलाई भेट्न गएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि चिकित्सकले स्वास्थ्य मापदण्डका कारण भेट्न दिएका थिएनन् ।


प्रतिक्रिया

One thought on “जनमोर्चाले भन्यो- मतदानका बेला सांसद शाहीको अनुपस्थिति रहस्यमय

  1. मान्छे बिरामी भए पछि अस्पताल जान नपाउने कहाँको नियम हो ? फेरी उहाँलाई भएको कोरोना positive र तिमीहरुले भेटदैमा कोरोना सन्चो हुने हो र ? सामाजिक दुरी कायम गर तिमीहरुको ट्याउ ट्याउ बन्द गर 🙏

Leave a Reply to Jitesh Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर