लुम्बिनीका निजी अस्पतालमा संक्रमितको उपचार, यस्ताे छ सरकारले तोकेकाे शुल्क – Nepal Press

लुम्बिनीका निजी अस्पतालमा संक्रमितको उपचार, यस्ताे छ सरकारले तोकेकाे शुल्क

आधा घण्टाको अवधिमा तीन संक्रमितको मृत्यु

रूपन्देही । कोरोना संक्रमणसँगै अस्पताल भर्ना हुने विरामी बढ्न थालेपछि रुपन्देहीको स्वास्थ्य प्रणाली कमजोर भएको छ । कोरोना अस्पताल भरिएको छ भने निजी अस्पताल आमसर्वसाधारणको पहुँचबाहिर छ ।

लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमित विरामीको उपचार निजी अस्पतालमा पनि गर्नुपर्ने व्यवस्थासहित अस्पतालले विरामीको अवस्थाअनुसार लिन पाउने शुल्क पनि निर्धारण गरिदिएको छ ।

लुम्विनी प्रदेशका आन्तरिक मामिला स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरीको अध्यक्षतामा सम्पन्न सरोकारवालाहरुको बैठकले प्रदेशमा रहेका निजी अस्पतालहरुमा कोभिड १९ का संक्रमित बिरामीहरुको उपचार गरे बापत पाउने शुल्क कायम गरेको हो ।

मन्त्रालयका अनुसार कोभिड १९ को संक्रमितको उपचार गरे बापत निजी अस्पतालहरुले अक्सिजनसहितको शय्या प्रयोग गरेबापत ३ हजार ५ सय रुपैयाँ प्रतिदिनका दरले लिन पाउने छन् ।

त्यसैगरी आईसीयू तथा एचडीयू शय्या प्रयोग गरेबापत प्रतिदिन ७ हजार र भेन्टिलेटरसहितको शय्या प्रयोग गर्नु परे प्रतिदिन १५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।

यसरी उपचार गर्ने अस्पतालहरुले सबै बिरामीहरुको उपचारको अभिलेख डिजिटल प्रविधिमा राखी सम्वन्धित कार्यालयहरुमा जानकारी दिनुपर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा लुम्बिनी प्रदेश सरकारभित्र रहेका सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजका सन्चालकहरु, लुम्विनी प्रदेशका प्रमुख सचिव भरतमणि सुबेदी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रबिलाल पन्त, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव महादेव पन्त, रुपन्देहीका अस्मान तामाङ, लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनाललगायतको सहभागिता रहेको थियो ।

आधा घण्टाको अवधिमा तीन संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आज विहान आधा घण्टाको अवधिमा ३ जना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले जानकारी दिएअनुसार बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो । २ः४५ बजे बुटवल–१४ का ६६ वर्षीय पुरुषको मृत्यु भयो भने ३ बजे मायादेबी–६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा बिष्णु गौतमका अनुसार मृतकमध्ये २ जना बैशाख ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल–१४ का संक्रमितलाई ९ गते अस्पताल ल्याइएको थियो ।

यी तीनसहित रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *