च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा पीएसजीमाथि सिटीको पुनरागमन जित – Nepal Press

च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा पीएसजीमाथि सिटीको पुनरागमन जित

एजेन्सी । पछि परेको स्थितिबाट पुनरागमन गदै इंग्लिस टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ । सेमिफाइनल पहिलो लेगमा सिटीले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई उसकै मैदानमा २–१ गोलले हरायो ।

पेप ग्वार्डिओला प्रशिक्षित म्यानचेस्टर सिटी खेल सुरु भएको १५ औं मिनेटमै पछि परेको थियो । एंगेल डी मारियाको कर्नरमा माक्वीनोजले हेडमार्फत अग्रता दिएका थिए । पूरा पहिलो हाफमै पीएसजीले खेल पूर्ण नियन्त्रणमा राखेको थियो ।

दोस्रो हाफको सुरुमै फिल फोडेनेले शानदार अवसर गुमाउँदा बराबरी गर्न चुकेको सिटीले निरन्तर आक्रमणहरु कायमै राख्यो । ६४ औं मिनेटमा केभिन डी ब्रुयेनले पेनाल्टी एरियाबाट गरेको प्रहारमा पीएसजीका गोलरक्षक केलर नाभास हलचल गर्नै भ्याएनन् ।

त्यसको ७ मिनेटपछि सिटीका लागि रियाद मेहेरेजले फ्रिकिकमार्फत अर्को गोल गरे । यो महत्वपूर्ण २ अवे गोल म्यानचेस्टर सिटीका लागि कीर्तिमानी सफलताको सुत्र बन्न सक्छ ।

म्यानचेस्टर सिटी अहिलेसम्म च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको छैन । यसपल्ट दोस्रो लेगमा २ अवे गोलको अग्रतासहित उसले पीएसजीलाई इथिहाड रंगशालामा स्वागत गर्नेछ ।

७७ औं मिनेटमा इद्रिसा गुये रातो कार्ड पाउँदै मैदान छाडेपछि अन्तिम १३ मिनेछ पीएसजी १० खेलाडीमा समेटिएको थियो । इलके गुण्डोगानलाई डरलाग्दो फल गरेपछि उनले सिधै रातो कार्ड पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *