काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, अत्यावश्यक बाहेक घरबाट ननिस्कन आग्रह – Nepal Press

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, अत्यावश्यक बाहेक घरबाट ननिस्कन आग्रह

काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमितहरु उल्लेख्य बढेपछि सरकारले आजदेखि बैशाख महिनाभर राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

आज विहानबाट सुरु भएको निषेधाज्ञापछि अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्नेछन् । मन्त्रिपरिषदको बैशाख १३ गते बसेको बैठकले १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी तथा कर्मचारी, पत्रकार, खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरु दूध, पानीका सवारीहरु निर्वाध चल्न पाउनेछन् । तर उनीहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको भने हुनुपर्नेछ ।

आज विहानैदेखि निषेधाज्ञाको पूर्ण पालना गराउन प्रहरी चेकिङ बाक्लो बनाइएको छ । काठमाडौं भित्रिने नाकाहरुमा विहानैदेखि कडाई सुरु गरिएको छ । बुधबार एकदिन मात्र नेपालमा ४ हजार ७ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै हुन् । नेपालमा सक्रिय संक्रमित पनि ३० हजार नाघेको छ ।

फेरि निषेधाज्ञा हुने भएपछि मंगलबार र बुधबार लाखौंको संख्याका मानिसहरुले काठमाडौं छाडेर थातथलो फर्किएका थिए । जसका कारण हिजो दिनभर काठमाडौंबाट बाहिरिने नाकाहरुमा लामो जाम देखिएको थियो ।

कोरोनाको पहिलो लहर सुरु भएसँगै सरकारले २०७६ चैत ११ देखि देशव्यापी लकडाउन लागू गरेको थियो । झण्डै चार महिना पूर्ण लकडाउन गरिँदा देशको अर्थतन्त्रमै नकारात्मक असर परेको थियो । यसपल्ट भने आवश्यकता हेरेर स्थानीय प्रशासनले नै लकडाउन वा निषेधाज्ञाको निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

पोखरामा बुधबारदेखि नै निषेधाज्ञा सुरु गरिएको थियो भने चितवनमा भोलिदेखि एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । नेपालगन्ज, धनगढी, विराटनगर लगायतका शहरमा पनि निषेधाज्ञा जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर