गण्डकीमा हलचल : ‘डेन्जरजोन’बाट ‘रेड जोन’मा मुख्यमन्त्री गुरुङ – Nepal Press

गण्डकीमा हलचल : ‘डेन्जरजोन’बाट ‘रेड जोन’मा मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभामा बुधबार उतारचढावपूर्ण परिदृश्य देखा परे । संघीयता स्थापना हुनुअअघि केन्द्रको संसदीय राजनीतिमा देखापर्ने घटनाक्रमलाई पनि माथ खुवाउने खालका थिए, गण्डकी प्रदेशका गतिविधि ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावलाई बुधबार छिनोफानो गर्ने तय भएको थियो ।

दिउँसो एक बजे बोलाइएको प्रदेशसभा बैठक बस्नुअघि नै प्रदेशसभाको संसदीय राजनीतिको अंक गणितमा आएको उलटफेरले मुख्यमन्त्री गुरुङलाई थोरै राहात दिलाएको छ, तर उनी सुरक्षित अबस्थामा भने अझैं छैनन्।

दिनभर जे भए

अविश्वास प्रस्तावको छिनोफानो गर्न दिउँसो १ बजे प्रदेशसभा बस्नुअघि नै राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कबिहीन भएको खबर आयो ।

शाही मात्रै होइन्, स्वतन्त्र सांसद दिपक मनाङे पनि । मतदानको समयमा मोबाइल स्वीचअफ गरेर बसेपछि कांग्रेस र माओवादी नेताहरू उनीहरूको खोजीमा निस्किए ।

जनमोर्चाका शाहीलाई खोज्न सोही पार्टीकी पियारी थापा पनि दौडधूप गरिन् । उनी जनमोर्चाकी संसदीय दलकी सचेतक समेत हन् ।

दुई सांसदको अनुपस्थितिले गण्डकीको गणितमा नाटकीय फेरबदल आयो । प्रदेशसभा शुरू हुनु केहीअघिसम्म मुख्यमन्त्री गुरुङ अप्ठ्यारोमा थिए ।

तर, अन्तिम समयको फेरबदलले उनलाई थोरै भए पनि राहात मिलेको छ । अविश्वास प्रस्तावउपर मतदान गरिहाल्नुपर्ने ‘मुड’मा रहेका विपक्षीहरु यसबाट हच्किए । र, उनीहरुको चाहना बमोजिम सदनलाई अनिश्चितकालका लागि स्थगित गरिदिए सभामुख नेत्रराज अधिकारीले ।

बेपत्ता सांसद शाहीको खोजी हुनुपर्ने भन्दै जनमोर्चाकै सचेतक पियारी थापाले संसदीय कारबाही हाललाई रोक्न निवेदन दिएको कारण देखाउँदै सभामुख अधिकारीले एकतर्फी रुपमा सूचना टाँसेर प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरे ।

सम्भावित परिदृश्य

‘रात रहे अग्राख पलाउँछ’ भन्ने उखान नेपाली जनजीवनमा चर्चित छ । नेपाली राजनीतिमा पनि यो उखान निकै लागू हुन्छ ।

हालसम्मको अवस्था हेर्दा ‘डेन्जरजोन’बाट मुख्यमन्त्री गुरुङ ‘रेड जोन’मा प्रवेश गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा दुई सांसदको मनस्थितिमा आएको बदलावले मुख्यमन्त्री गुरुङलाई राहात मिलेको छ ।

दिउँसको प्रदेशसभा शुरु हुनुअघि संसदीय अंकगणित गुरुङको पक्षमा थिएन । कांग्रेसका १५ र माओवादीका सभामुख बाहेक ११ जना सांसद छन् । जसपाका २ समेत गर्दा २९ हुन्छ । राजमोका तीन सांसद र दिपक मनाङेले पनि मत दिदा ३२ हुने अनुमान विपक्षीको थियो ।

तर, दुई सांसदको अनुपस्थितले गुरुङ विरुद्धको अविश्वास प्रस्ताव सफल नहुने अवस्था हालको छ । मनाङे एमालेको पक्षमा उभिइसकेका छन् । गण्डकी प्रदेशमा सत्ता समीकरणको निर्णायक शक्ति बनेको छ, राष्ट्रिय जनमोर्चा ।

जनमोर्चा भित्रै देखिएको भाँडभैलोले प्रदेश राजनीतिको पूर्वानुमान गरिएको परिृश्यमा फेरबदल आएको छ । जनमोर्चाको केन्द्रको निर्देशन मुख्यमन्त्रीविरुद्ध उभिने भन्ने थियो । तर, जनमोर्चाका लागि बाग्लुङको स्थानीय राजनीति निर्णायक भएको छ ।

एमालेको सरकार ढाल्ने केन्द्रको निर्णयबाट जनमोर्चाका वाग्लुङका नेता कार्यकर्ता र सांसदहरु रुष्ट छन् । जनमोर्चाका तीनै जना सांसद बाग्लुको प्रतिनिधित्व गर्छन् । दुईजना प्रत्यक्ष निर्वाचित हुने भने एकजना कोटाबाट आएका हुन्। अझैं पनि प्रदेश सरकारको भविष्य के हुने भन्ने कुरा जनमोर्चाकै हातमा छ । जनमोर्चाका दुई सांसद सरकार कै पक्षमा उभिए भने सरकारको अवस्था बलियो हुन सक्छ ।

प्रस्ताव असफल भए थप एक बर्ष नपुग्दै अविश्वास प्रस्ताव ल्याउन सकिदैन । जनमोर्चाका दुई सांसद पनि सरकारविरुद्ध उभिएको खण्डमा भने प्रस्ताव पारित हुन सक्छ ।

अझैं पनि गण्डकी प्रदेशको सत्ता समीकरणमा निर्णायक जनमोर्चा नै छ । केन्द्रको निर्देशन सबै सांसदले माने सरकारलाई अप्ठ्यारो छ । स्थानीय राजनीतिलाई हेरेर दुई सांसद पार्टीको कारबाही समेत भोग्न तयार अविश्वास प्रस्ताव असफल हुनेछ ।

यदि बुधबार सभामुखले संसद बैठक स्थगित नगरेको भए सोही दिन अविश्वास प्रस्ताव असफल हुनेथियो । तर यसमा सभामुखको साथ पाएका कांग्रेस माओवादीले अब जनमोर्चाका सांसदको साथ लिन सक्छन् कि सक्दैनन् ? गण्डकीको सत्ता समिकरण यसमै निर्भर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर