रातिसम्मै काठमाडौं छाड्नेको लर्को, नागढुंगा-नौबिसेमा दिनभर जाम (फोटो/भिडियो) – Nepal Press
रातिसम्मै काठमाडौं छाड्नेको लर्को, नागढुंगा-नौबिसेमा दिनभर जाम (फोटो/भिडियो)
नेपाल प्रेस २०७८ वैशाख १५ गते १९:४४
२०७८ वैशाख १५ गते १९:४४

काठमाडौं । सरकारले बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपछि हिजो र आज दुई दिनमा ५० हजारभन्दा बढी मानिसहरुले काठमाडौं छोडेका छन् । सवारीसाधनको चापले आज नौबिसे-नागढुंगा सडक दिनभरजसो जाम भयो ।

आज विहानदेखि वेलुकी पाँच बजेसम्म १२ घन्टामा नागढुंगाबाट सानाठूला गरी १ हजार ६५१ वटा यात्रुवाहक सवारीसाधनमा २२ हजार ५६७ जना यात्रु बाहिरिएको ट्राफिक प्रहरीको रेकर्ड छ । यसैगरी नागढुंगाबाट विहान ६ बजेदेखि साँझ पाँच बजेसम्म १ हजार २५५ वटा सवारी साधनबाट १४ हजार ५०१ यात्रु काठमाडौं प्रवेश गरेका छन् ।

हिजो २४ घण्टामा ७ हजार ९ वटा सवारी साधनबाट ५२ हजार यात्रुले काठमाडौं छोडेका थिए । यसैगरी सोही समयमा ७ हजार ७७ वटा सवारी साधनमार्फत ३२ हजार यात्रु काठमाडौं प्रवेश गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सवारीसधानको चापले सडक अस्तव्यस्त बनेको छ । सवारीसाधनको चापले गर्दा बिहान ११ बजेदेखि जाम सुरु भएको नेपाल ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीले बताए । दिउसो १२ बजे धादिङको धार्केमा काठमाडौं आइरहेको गाडी बिग्रेर रोकिएपछि जाम लम्बिएको उनको भनाइ छ ।

‘तर धार्केमा विग्रिएको गाडीलाई सडकबाट हटाइएपछि पनि जाम कम भएन,’ अधिकारीले भने, ‘अहिले पूर्ण जाम नभएपनि सवारी साधन एकदमै बिस्तारै अघि बढेका छन् ।’

विहान ११ बजे कलंकीबाट धादिङ जानका लागि गाडी चढेका धादिङका सुदन ढुंगाना ६ घण्टासम्म घर पुग्न सकेका थिएनन् । उनका अनुसार नागढुंगाबाट सुरु भएको जाम नौबिसेसम्म नै थियो ।

काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्ने दुवैथरि सवारी साधनको चाप छ अहिले । आज काठमाडौंबाट बस, ट्रक, मोटरसाइकललगायत सार्वजनिक तथा निजी सवारीसाधन अत्यधिक संख्यामा बाहिरिएका छन् । बाटोमा जाम भएको खबर थाहा पाएसँगै काठमाडौबाट बाहिरिने कतिपय सार्वजनिक ठूला सवारीसाधन साविक समयभन्दा अवेर गरेर हिँडेका थिए । काठमाडौंबाट भद्रपुर जाने ठूला बस दिउँसो तीन बजे कोटेश्वरबाट छुट्नु पर्ने भए पनि पाँच बजेमात्र छुटेको शाकिरा यातायात प्रालीका कर्मचारी हेम मगरले जानकारी दिए ।

नागढुंगामा भएको जामको असर कलंकीसम्म देखिएको छ । दिउँसोबाटै भएको कलंकीको जाम अझै हट्न सकेको छैन ।

प्रवक्ता अधिकारीका अनुसार बेलुका थप नाइटबसहरु जाने भएकाले दुई दिनको पुरा आँकडा भोलीमा त्रै आउने छ ।









 
कलंकी जामका केहि तस्बिरहरु :