समानान्तर कमिटीलाई निरन्तरता दिने माधव पक्षको निर्णय – Nepal Press

समानान्तर कमिटीलाई निरन्तरता दिने माधव पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले देशभर समानान्तर कमिटी विस्तारको अभियान जारी राख्ने भएको छ ।

बुधबार कलंकीस्थित एक पार्टी प्यालेसमा नेपाल पक्षका स्थायी समिति सदस्यहरूबीच भएको छलफलपछि यस्तो अडान दोहोर्‍याएको हो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिच्ने क्रियाकलाप जारी रहेसम्म अभियान नरोक्ने कुरालाई पुनर्पुष्टि गरेको नेता भीम रावलले जानकारी दिए ।

‘जबसम्म केपी ओलीजीका विधान मिच्ने क्रियाकलाप बन्द हुँदैनन्, तबसम्म हामी अगाडि बढ्नुपर्छ भन्ने कुरालाई पुनर्पुष्टि गरेका छौं,’ छलफलबारे जानकारी दिँदै रावलले संवाददाताहरूसँग भने।

नेपाल पक्षले गत चैत ६ र ७ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर देशभर समानान्तर चार महिने अभियान चलाउने निर्णय गरेको थियो ।

आजको छलफलमा अभियानबारे समीक्षा भएको र सफलताका साथ अगाडि बढेको निष्कर्ष निकालिएको जानकारी रावलले दिए ।

‘हामीले देशभर जुन अभियान चलाएका छौं, त्यो सफलताका साथ अगाडि बढिरहेको छ,’ उनले भने, ‘अहिले कोरोना संक्रमणका कारणले गर्दा यसलाई रोक्नु पर्ने भएता पनि हामीले यसलाई जारी गराख्नुपर्द छ ।’

रावलले कोरोनाका कारण केही गतिविधि बन्द भए पनि अभियान भने नरोकिने बताए । उनले भने, ‘अभियानलाई बन्द गर्नेबारे सोचेका छैनौं तर अहिले यो महामारीका समयमा कतिपय गतिविधिहरू बन्द हुन सक्छन वा कम हुन सक्छन् ।’

घोषित अभियान अनुसार नेपाल पक्षले समानान्तर कमिटी निर्माण गरिरहेको छ।

सांसदलाई कारवाही गर्न नमिल्ने

नेता रावलले आफूपक्षीय सांसदहरूलाई ओलीले कारवाही गर्न निमल्ने जिकिर गरे ।

नेपालको संविधान अनुसार त्यस्तो कारवाही गर्न नमिल्ने भन्दै तर्साउन मात्रै आफूहरूलाई स्पष्टीकरण सोधिएको दावी गरे।

‘हामीलाई कारवाही गर्ने भन्ने कुरा नै गलत हो,’रावलको भनाइ छ, ‘नेपालको कानून बमोजिम प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई कारवाही नै गर्न मिल्दैन । त्यो धाक, धम्की दिने, तर्साउने कुरामात्रै हो ।’

उनले भने, ‘पार्टी खोलेमा, पार्टी परित्याग गरेको सूचना दिएमा र राष्ट्रिय महत्वको विषयमा संसदमा मतदान हुँदा निर्देशन उल्लघंन गरेमा मात्रै त्यो कानूनत: आकर्षित हुन्छ । त्यसको कुनै अर्थ पनि छैन ।’

पार्टीविरोधी काम गरेको भन्दै एमालेको संस्थापन पक्षले ६ वैशाखमा नेपाल पक्षीय संघका २७ र कर्णाली प्रदेशका ४ सांसदलाई स्पष्टीरण सोधेको थियो ।

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई पार्टी र प्रदेशसभा सदस्यबाटै निष्कासन गरिसकिएको छ । बाँकी संघका २७ सांसदमाथि चाहिँ हालसम्म कारवाहीको निर्णय गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *