रुपन्देहीमा १५ दिन र पाल्पामा एक साता निषेधाज्ञा – Nepal Press

रुपन्देहीमा १५ दिन र पाल्पामा एक साता निषेधाज्ञा

रुपन्देही । रुपन्देहीमा १५ दिन निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले कम्तिमा १५ दिन निषेधाज्ञा जारी गर्न जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो ।

संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले सर्वदलीय बैठकको सुझावअनुसार वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि वैशाख २९ गते बिहान ६ बजेसम्म लागू हुनेछ ।

उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरे पछि प्रशासनले निषेधाज्ञा जारी गर्ने निष्कर्षमा पुगेको थियो । निषेधाज्ञा कडाइकासाथ लागू गरिने र उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० को उपदफा २ बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन । अतिआवश्यक सवारी साधनलाई मात्र संचालन गर्न दिइने छ । जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, संचार, भन्सार, क्वारेन्टाइन फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु छन् । त्यसैगरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने पौडेलले बताए ।

अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्ररुपमा बढेको छ । सक्रिय संक्रमित नै दुई हजार बढी पुगेका छन् । सक्रिय संक्रमितका कारण जिल्लाका सरकारी तथा प्राइभेट अस्पतालका आईसीयू, भेन्टिलेटर, जनरल र अक्सिजनसहित एचडी वार्डहरु भरिएका छन् ।

पाल्पामा एकसाता निषेधाज्ञा

कोरोना संक्रमण बढ्दै गएपछि पाल्पामा वैशाख १८ गतेदेखि एक हप्ता निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी पाल्पाको बैठकले बैशाख १८ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नयाँ भेरियन्टको कोरोना संक्रमण पाल्पामा समेत तीव्र रुपमा फैलिएकाले निषेधाज्ञा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन । अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एकपटक बिहान ६ बजेबाट ११ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु सञ्चालन गर्न पाइने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *