गण्डकीको गणितमा नाटकीय फेरबदल, माधव पक्षका एकमात्र सांसद सापकोटाले के गर्लान् ? – Nepal Press

गण्डकीको गणितमा नाटकीय फेरबदल, माधव पक्षका एकमात्र सांसद सापकोटाले के गर्लान् ?

काठमाडौं । अन्तिम घडीमा आएर गण्डकी प्रदेश सभाको गणितमा गडबड भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार जोगिने सम्भावना बढेको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद दिपक मनाङे प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुँदा अनुपस्थित भएसँगै उनीहरूको खोजी शुरू भयो ।

मतदानको बेला आउन लाग्दा दुवै सांसद मोबाइल स्वीचअफ गरेर बसेपछि कांग्रेस र माओवादी नेताहरू उनीहरूको खोजीमा निस्किए । जनमोर्चाका खिमविक्रमलाई खोज्न सोही पार्टीकी पियारी थापा पनि दौडधूप गरिरहेकी छन् ।

प्रदेशसभा बैठक खाजा ब्रेकलाई स्थगन हुँदा कांग्रेस र माओवादीका सांसदहरू निराश मुद्रामा बाहिर निस्किएका थिए । दुई सांसद अनुपस्थित हुनासाथ अविश्वास प्रस्तावको पक्षमा ३० मत मात्र हुने देखिन्छ ।

कांग्रेसका १५ र माओवादीका सभामुख बाहेक ११ जना सांसद छन् । जसपाका २ समेत गर्दा २९ हुन्छ । राजमोका तीन सांसद र दिपक मनाङेले पनि मत दिदा ३२ हुने अनुमान थियो ।

तर, दुई सांसद अनुपस्थित हुनासाथ अविश्वास प्रस्ताव पारित हुँदैन । एमालेका २७ मध्ये माधव नेपाल पक्षका एकजना इन्द्रलाल सापकोटामात्र छन् ।

सापकोटाले फ्लोर क्रस गरेर कर्णालीमा जस्तै एमालेलाई धोखा दिए भने अविश्वास प्रस्ताव पारित हुने झिनो सम्भावना छ । सापकोटाले अहिलेसम्म केही बोलेका छैनन् ।

त्यसो त कांग्रेसलाई मुख्यमन्त्रीमा मत दिएर एमालेको सरकार ढाल्ने केन्द्रको निर्णयबाट जनमोर्चाका वाग्लुङका नेता कार्यकर्ता र सांसदहरु रुष्ट छन् ।

जनमोर्चाका अर्का सांसद कृष्ण थापा पनि अशन्तुष्ट रहेकाले यदि इन्द्रलाल फ्लोर क्रस गरे भने थापाले एमाले सरकार जोगाइदिन सक्ने सम्भावना पनि उत्तिकै छ ।

यदि अविश्वास प्रस्ताव असफल भयो भने अर्को एक वर्ष फेरि अविश्वास प्रस्ताव ल्याउन पाइदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर