तनहुँका पर्यटन र धार्मिकस्थलमा प्रवेश गर्न रोक – Nepal Press

तनहुँका पर्यटन र धार्मिकस्थलमा प्रवेश गर्न रोक

तनहुँ । पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय पुनः महामारीका रूमा कोभिड-१९ को सङ्क्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो । छाब्दी बाराही मन्दिरमा पूजाअर्चनाका लागि बन्द गरिएको छ । जिल्लास्तरी कोभिड सङ्कट व्यवस्थापन समितिले मठमन्दिरलगायत धार्मिक र पर्यटकीयस्थलमा भीडभाड नगर्न निर्देशन दिएपछि सोमबारदेखि नै बन्द गरिएको छाब्दीबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले जानकारी दिए ।

त्यसैगरी ढोरबाराही मन्दिरमा आजदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । नित्य पूजाअर्चनाबाहेक भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । गत वर्ष चैतदेखि शुरु भएको कोरोना सङ्क्रमण असारपछि क्रमिकरूपमा घट्दै गएपछि मन्दिरमा भक्तजनको चाप बढ्दै गएको पुजारी चिरञ्जीवी लम्सालले बताए ।

इलाका प्रहरी कार्यालय बेलचौतराबाट आएको प्रहरी टोली पूजाअर्चना मङ्गलबारबाटै रोक्न भने पनि टाढा–टाढाबाट भक्तजन आएकाले आजदेखि बन्द गर्ने निर्णय गरिएको उनले बताए । शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा रहेको ढोरबाराही मन्दिर भगवान् विष्णुको तेस्रो अवतारका रूपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । मनोकाङ्क्षा पूरा हुने भएकाले उक्त मन्दिरमा पूजाअर्चना र बलि दिनका लागि छिमेकी जिल्ला स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पाल्पा, नवलपुर, चितवनबाट भक्तजन आउने गर्छन् ।

कोरोना सङ्क्रमण फैलिँदै जान थालेपछि जिल्लाका धार्मिक एवं पर्यटकीयस्थलमा मानिसलाई जमघट नहुन आग्रह गरिएको तनहुँका प्रहरी प्रमुख उपरीक्षक अरुण पौडेलले बताए । अनिवार्य मास्क लगाएर हिँड्न र जमघट भएर नबस्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । जिल्लाका प्रसिद्ध धार्मिकस्थल अकला देवी, तनहुँ कालिका, थानीमाई, आँधीमूल, पर्यटकीयस्थल मानुङकोट, गलेखामकोट, परेवाडाँडा, बन्दिपुरलगायत क्षेत्रमा जमघट नहुन परिपत्रका साथ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको व्यासमा आजदेखि विद्यालय बन्द

व्यास नगरपालिका क्षेत्रभित्रका सामुदायिक एवं संस्थागत शैक्षिक संस्थामा वैशाख आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन बन्द गरिएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मङ्गलबार सम्पन्न बैठकले विद्यमान कोभिड–१९ को असर र प्रभावलाई मध्यनजर गर्दै व्यास नपाभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत शैक्षिक संस्थाट सञ्चालन हुँदै आएका भौतिक उपस्थितिका कुनै पनि कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ ।

कक्षागत आन्तरिक परीक्षा भौतिक द्ररी कायम गर्दै स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड कडाइका साथ पालना गर्नेरगराउने व्यवस्था मिलाई फरक–फरक सिफ्टमा परीक्षा सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।

व्यास नगरपालिका कार्यालयद्वारा मूल्याङ्कन गरी पेश हुन आएको नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रतिवेदनउपर बृहतरूपमा छलफल गरी अनुमोदन गर्ने निर्णय गरियो । नगर विकास कोषको ऋण सहयोगमा व्यास नगरपालिकाको संयुक्त लगानीमा कार्यालय परिसरको उत्तर-पूर्वतर्फ निर्माण प्रस्ताव गरिएको बहुउदेश्यीय भवन निर्माणका लागि आवश्यक प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर