बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन – Nepal Press

बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई कडाइ गरेको नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिए ।

उनका अनुसार, उपभोक्ता हित संरक्षण समितिले सरोकारवाला निकायसँगको समन्वयमा दैनिकरूपमा बजार अनुगमनलाई निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तु, तरकारी बजार र औषधि पसलमा समेत अनुगमनको कार्य भएको छ ।

मङ्गलबार औषधि र सर्जिकलजन्य पसलको अनुगमन गर्दा केही औषधि पसलमा व्यवसायीबिनै औषधि पसल सञ्चालन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ ।

नेपालगञ्जका विभिन्न औषधि र सर्जिकल पसलको अनुगमन गर्ने क्रममा अक्सिमिटर, स्यानिटाइजरजस्ता अत्यावश्यक वस्तुको मूल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरी लेवलमा अधिकतम खुद्रा मूल्य केरमेट गर्ने र उपभोग्य म्याद समाप्त भएका स्यानिटाइजर बिक्री गर्ने एक सर्जिकल पसल पश्चिमाञ्चल डिष्ट्रब्युटर्सलाई तत्काल २ लाख रुपैया जरिवाना गरी लेवलमा केरमेट गरिएका अक्सिमिटरलगायत वस्तु बिक्री नगरी फिर्ता गर्न निर्देशन दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।

अनुगमनका क्रममा औषधि पसलमा व्यवसायीबिनै अनधिकृत व्यक्तिले औषधि बिक्री वितरण गरेको र अक्सिमिटर, स्यानिटाइजरजस्ता अत्यावश्यक वस्तुको मूल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरी लेवलमा केरमेट गर्ने गरेको पाइएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँकेका अध्यक्ष वसन्त गौतमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर