राजीव पहारीसहित एमाले र कांग्रेसका तीन सांसद संक्रमित, आजै अविश्वास प्रस्ताव टुंगो लाग्ला ? – Nepal Press
गण्डकी प्रदेश

राजीव पहारीसहित एमाले र कांग्रेसका तीन सांसद संक्रमित, आजै अविश्वास प्रस्ताव टुंगो लाग्ला ?

सभामुख भन्छन्- सबै माननीयले कुरा राख्नुपर्‍यो, आजै हुन्छ भन्न सकिन्न’

पोखरा । गण्डकी प्रदेश सभाका तीनजा सांसद र एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एमाले सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङमा संक्रमण पुष्टि भएको हो । त्यस्तै संसद सचिवालयका कर्मचारी सुष्मा गुरुङमा पनि संक्रमण पुष्टि भएको छ ।

मंगलवारको बैठकमा एमालेका पहारीले नै पीसीआर परीक्षणबिना बैठक राखिएको भन्दै आपत्ति जनाएका थिए । उनले सबै सांसद र कर्मचारीको परीक्षण नगरी सदन चल्न नहुने बताएपछि परीक्षण गर्दा उनमै संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा आज मतदान गर्ने कार्यसूचि छ । बैशाख २ गते दर्ता भएको अविश्वास प्रस्ताव १३ गते सदनमा पेस भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पाेखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्दै पेस भएको अविश्वास प्रस्तावमाथि सोमबार र मंगलबार छलफल हुने र बुधबार (आज) मतदान गर्ने कार्यसूचि थियो ।

तर, मंगलबार सत्तारुढ दल नेकपा एमालेले पीसीआर परीक्षणबिना बैठक बस्न नहुने अडान राखेपछि बैठक स्थगित भयो । प्रदेश सभा सचिवालय कर्मचारी, सांसद, सुरक्षाकर्मी र चालकसहितको पीसीआर परीक्षण नतिजा आइसकेपछि मात्रै संसद सुरु हुने गरी आज दिउँसो १ बजेसम्मका लागि संसद स्थगन गरिएको थियो ।

मंगलबारको बैठकमा २५ जना सांसदले आफ्नो राय राख्ने र अन्तिममा मुख्यमन्त्रीले आफ्नो भनाइ राख्ने तय थियो । तर, संसद रोकिएपछि आज मतदान हुन्छ कि हुँदैन भन्ने शंका उत्पन्न भएको छ । उसो त जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञासमेत आजैबाट लागू भएको छ । तर, प्रशासनको आदेशलाई लत्याउँदै प्रदेश सभा बैठक भने जारी हुनेछ ।

गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारी आजै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनेमा विश्वस्त छैनन् । ‘आज मतदान हुने कतिको सम्भावना छ  ?’ नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘सबै माननीयले बोल्नु पाउनुपर्‍यो । उहाँहरुले बोलिसकेपछि मुख्यमन्त्रीज्यूले उत्तर दिनुपर्‍यो । त्यसपछिमात्रै मतदान हुने हो । खै केही भन्न सकिन्न ।’

सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा पहिलो दिन १० सांसदले आफ्नो भनाइ राखेका थिए । प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीदेखि सुरु भएर हालका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनाइ राखिसकेपछि बल्ल मतदान हुने सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको थियो ।

मुख्यमन्त्रीविरुद्ध वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी २८ सांसदले हस्ताक्षर गरिसकेका छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार ढाल्न ३१ मत आवश्यक पर्छ । हाल सरकारमा रहेको सत्तारुढ पार्टी नेकपा एमालेसँग २७ सिट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर