कांग्रेसमा क्रियाशील सदस्यता बुझाउने आज अन्तिम दिन, थपिएला त म्याद ? – Nepal Press

कांग्रेसमा क्रियाशील सदस्यता बुझाउने आज अन्तिम दिन, थपिएला त म्याद ?

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नयाँ र नवीकरण सूची केन्द्रीय कार्यालयको सफ्टवेयरमा पञ्जीकरण गर्ने आज अन्तिम दिन हो ।

कांग्रेसले समायोजन लगायत विवादका कारण रोकिएका बाहेक जिल्ला र क्षेत्रीय समितिलाई आज राति १२ बजेसम्म अनलाइल प्रणालीबाट सदस्यता विवरण बुझाउन अन्तिम म्याद दिएको थियो ।

यसअघिको बैठकले अन्तिम पटकका लागि भन्दै आज मध्यरातसम्मको म्याद दिएको भए  पनि आज बस्ने कांग्रेस केन्द्रीय समितिले अवधि थप गर्ने सम्भावना छ । कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै अधिकांश जिल्लामा काम प्रभावित भएकोले केही समय दिनुपर्ने माग कांग्रेसभित्र उठिरहेको छ ।

आज २ बजेपछि सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइएको छ । यसअघि सोमबारका लागि तय भएको कांग्रेस बैठक सबै केन्द्रीय पदाधिकारी र सदस्यहरुको कोरोना परीक्षणपछि मात्रै बस्ने भन्दै स्थगित गरिएकाे थियाे ।

कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार परीक्षण गराएका कांग्रेसका कोही पनि नेतालाई कोरोना संक्रमण नदेखिएपछि बैठक आज बस्न लागेको हो । आजको बैठकमा क्रियाशील सदस्यताको म्याद थप, महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

आजको बैठकमा नेपाली नागरिकता त्याग गरिसकेको विदेशस्थित जनसम्पर्क समिति आवद्ध सदस्यहरुको क्रियाशील सदस्यताबारे पनि छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर