पाँचखालमा १५ शैयाको आइसोलेसन – Nepal Press

पाँचखालमा १५ शैयाको आइसोलेसन

काठमाडौं । काभ्रेमा दोश्रो लहरको कोरोना संक्रमण देखिन थालेको दुई साता वितेको छ । दैनिक २५ जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएपनि धेरै जसो स्थानीय तहले आइसोलेसन सञ्चालनमा चासो दिएका छैनन् ।

पहिलो चरणको संक्रमणमा पनि पहिला आईसोलेसन बनाएर नमुना बनेको पाँचखाल नगरपालिकाले भने यो पटक पनि जिल्लाका स्थानीय तहहरु मध्ये पहिलो बन्दै १५ शैयाको आइसोलेसन सञ्चालनमा ल्याएको छ । पाँचखाल नगरपालिकाले स्वास्थ्य उपकरण, चिकित्सक तथा आवश्यक दक्ष स्वास्थ्यकर्मी सहित १५ शैयाको आइसोलेन सञ्चालनमा ल्याएको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

यस अघि नगरप्रमुख खरेलले कोरोना भाइरसबाट जोगिन नगरबासीलाई १२ बुँदे अपील गरेका थिए । नगरपालिकाभित्रका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यमा मापदण्ड पालना गर्ने गरी बैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्ने भनिएको छ । नगरपालिकाले एक पटकमा पच्चीस जना भन्दा बढी हुने कुनै पनि सभा, सम्मेलन, गोष्ठी, सेमिना, समीक्षा, बैठक, तालिम, प्रशिक्षण जस्ता कार्यक्रम नगर्न भनिएको छ । त्यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोर जस्ता भिडभाड हुने ठाउँमा दुई मिटरको दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने र पटक पटक हात धुन अपील गरिएको छ ।

विवाह, ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिन आग्रह गरिएको छ । नगरपालिकाले भिड भएको गाडी नचढ्न पनि भनेको छ । नियमित रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न पनि भनिएको छ ।

त्यस्तै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले केहि दिन भित्र आईसोलेसन सञ्चालनको तयारी रहेको बताए । उनले जनशक्ती र उपकरण तयारी अवस्थामा भएकोले निश्चित स्थान तोकेर आइसोलेसन सञ्चालनमा ल्याउने बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेलले केन्द्रको निर्देशनबमोजिम जिल्लाका सबै स्थानीय तहमा आइसोलेसन सेन्टर सञ्चालन ल्याउन निर्देशन दिएको बताए ।

आईतबार भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा रहेका धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताललाई आईसोलेसन बनाउन लगाईकन सेवा शुरु गरिसकेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर