खोप लगाउन घुँइचो, ८ घण्टादेखि लाइन बस्नेले पनि पालो पाएनन् (फोटो/भिडियो) – Nepal Press
खोप लगाउन घुँइचो, ८ घण्टादेखि लाइन बस्नेले पनि पालो पाएनन् (फोटो/भिडियो)
समर्पण श्री २०७८ वैशाख १४ गते १९:१९
विजय गजमेर २०७८ वैशाख १४ गते १९:१९

काठमाडौं । थापाथलीस्थित प्रसूतिगृहमा रहेको खोप केन्द्रमा खोप लगाउने सर्वसाधारणको भिड खचाखच थियो । सुकुम्बासी वस्ती नजिकै रहेको प्रहरी बिटबाट सुरु भएको लाइन प्रसूतिगृहको गेट हुँदै भवनको पहिलो तल्लासम्म हेर्दा सयौंको संख्यामा देख्न सकिन्थ्यो ।

बिहान ७ बजेदेखि लाइन बसेकी ४८ वर्षीया पावना अर्याल हातमा टोकन लिएर उभिरहेकी थिइन् । १२ बजिसक्दा समेत लाइन नसर्दा खोप नपाउने हो कि भन्ने चिन्ता अर्याललाई थियो ।

‘कोभिडबाट बच्न भनेर खोप लगाउन आएको । तर, यो भिडले झन् जोखिम बनायो । खोप पाउने नपाउने भर भएन,’ उनले भनिन् ।

गेटबाहिर फर्किँदै गरेकी ६५ वर्षीया एक वृद्धा निराश मुद्रामा थिइन् । ५९ वर्षका भन्दा माथिकाले खोप नपाउने भएकाले आफू नलगाई फर्कनुपरेको उनले सुनाइन् ।

‘६ बजेदेखि लाइन बसेको म । तर, हाम्रो उमेरकोले नपाउने रहेछ । पहिला थाहा भएन,’ उनले भनिन् ।

बालाजु बस्ने रुपेश खड्का भर्खरै खोप लगाएर बाहिर निस्कँदै थिए । सोमबार दिनभर लाइन बस्दासमेत पालो नपाएपछि आज पुनः लाइन बसेका थिए उनी । ‘हिजो पालो नपाएपछि आज बिहानै आएँ । बल्लबल्ल पालो पाएँ,’ उनले भने ।

भवनको माथिल्लो तल्लामा खोप लगाउन लाइन बस्नेहरूको चर्को भिड थियो ।

३ सय ७४ नम्बरको टोकन लिएर बसेका ५० वर्षीय वेदबहादुर थापा आक्रोसित देखिँदै थिए ।

‘हामी बिहान ४ बजेदेखि लाइन बसेकाले अहिलेसम्म पाएका छैनौं । तर यहाँ कालो कोटवाला र पहुँच भएकाहरू ५/६ जना छिरे,’ उनले गुनासो गरे । आफू लाइन लागेर टोकनका साथ बस्दा पनि पालो नआएकोमा उनी आक्रोशित देखिन्थे ।

‘साढे ८ बजे आउनेहरु अघि नै लगाएर गइसके । पहुँचवालाले जे गर्दा पनि हुने,’ उनले भने ।

अघिल्लो दिन पनि लाइन बसेर पालो नआएपछि फर्किएका ३५ वर्षीय विकास पुन आज पनि बिहान ४ बजेदेखि लाइन बसे । तर, बीचमा घुसपैठ भएर छिर्नेहरू खोप लगाएर फर्किँदा पालो पाउन सकस भएको बताउँछन् उनी ।

त्यही भिडमा करिब ४ वर्षीय बालक च्यापेर लाइन बसिरहेका रोशन पुन पनि थिए । ‘बिहान ५ बजेदेखि आएको, उभिएका उभिएकै छौं । पालो अघिनै आइसक्नुपर्ने थियो । अझै आउने छाँट छैन,’ उनले भने ।

श्रीमतीसहति आएका उनी आफूसँग भएको बच्चालाई जोखिम भयो भन्ने चिन्तामा थिए । ‘बच्चा घरमा एक्लै छाड्न मिल्दैन । यहाँ ल्याउँदा कोभिडको डर झन् बढ्यो,’ उनले सुनाए ।

घुसपैठ भएको भन्दै झगडा र धरपकड गरिएको दृश्य पटक-पटक देख्न सकिन्थ्यो । लाइन बसिरहेकी एक महिला नयाँ मान्छेलाई भित्र छिर्न निषेध गर्न खोजिरहेकी थिइन् । भिड व्यवस्थापन गर्न बसिरहेका एक जना सईसँग उनको भनाभन समेत हुन्छ ।

ती सईले उनलाई ‘बाहिर निकाल्’ भनेर प्रहरी जवानलाई अह्राउँछन् । ‘निकाल्नुस्, बिहान ५ बजे दुई वटा बच्चा छाडेर आएको छु । कुपन छ हातमा । अरु मनमौजी ढंगले कुपनविना पसिरहेका छन् । मलाई कसरी निकाल्न पाउनुहुन्छ ?’ उनी आक्रोसित सुनिँदै थिइन् ।

प्रसूतिगृह खोप केन्द्रमा देखिएको यो दृश्यले कोरोना जोखिम झन् बढाउने अनुमान सहजै गर्न सकिन्थ्यो ।

हाल १५ खोप केन्द्रहरूमा खोप वितरण

अहिले काठमाडौं, भक्तपुर र ललितपुर गरी १५ वटा खोप केन्द्रहरूमा चीनबाट आयात गरिएको भेरोसेल खोपको पहिलो मात्र सर्वसाधारणलाई दिइएको छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्माका अनुसार यो खोप पहिलो मात्रामा ४ लाखलाई दिइनेछ भने चार लाख दोस्रो मात्राको लागि राखिनेछ ।

पहिलो पटक दिइएको दोस्रो चरणको खोप हिजोबाट बन्द भएको उनले बताए ।

दोस्रो खोप सुरुमा ४० देखि ५९ उमेर समूहकालाई दिइएको थियो भने अहिले निवेदन दिएका १८ वर्षदेखि ५९ सम्मकाले पाएका छन् । खोप केन्द्रहरूमा दैनिक ६ सय देखि १६ सय सम्मकाले खोप लगाएको उनले बताए । ‘अहिले खोपको माग बढेको छ । हामीले पुर्‍याउन सकिरहेका छैनौं,’ उनले भने ।

खोप लगाएपछि जोखिम उस्तै

खोपका लगाउने क्रममा नै भिडका कारण झन् जोखिम बढेको कुरा खोप शखा प्रमुख शर्मा स्वीकार्छन् । ‘भिडभाडले गर्दा जोखिम त बढ्ने नै भयो । व्यवस्थापन गर्न पनि स्वास्थ्यकेन्द्रलाई गाह्रै भएको छ,’ उनले भने ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारी पनि खोप लगाउने क्रममा जोखिम बढेको हुँदा संक्रमण बढ्ने खतरा भएको बताउँछन् । ‘संक्रमण बढ्ने जोखिम भएको हुँदा खोप वितरण छिटै बन्द गर्नेछौं,’ उनले भने ।

अधिकारीका अनुसार खोप लगाएर पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेन भने संक्रमण हुने डर उतिकै छ । ‘खोप लगाएर पनि मापदण्ड पालना नगर्ने हो भने रोकथाम हुन्न । अहिले पनि खोप लगाइसकेका सबैमा शतप्रतिशत क्षमता विकास हुने समय भइसकेको छैन । १० जनामध्ये ४ जनालाई खोपले काम गर्‍यो भने ३ जनालाई गरेन भने संक्रमण दर अगाडि बढ्दैन । हामी सजग उतिकै रहनुपर्छ,’ उनले भने ।