सरकारलाई समर्थन गरेको कांग्रेस किन बस्यो प्रतिपक्षमै ? – Nepal Press
कर्णाली प्रदेश

सरकारलाई समर्थन गरेको कांग्रेस किन बस्यो प्रतिपक्षमै ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिनअघि विश्वासको मत लिए । उनलाई तत्कालीन प्रतिपक्षी दल कांग्रेसले पनि समर्थन जनाएको थियो ।

सामान्यतया सरकारलाई सर्मथन गरेको दलका सांसदहरु संसदभित्र सत्तारुढ दलको पंतिमा बस्ने प्रचलन छ । तर, हिजो बसेको कर्णाली प्रदेश सभामा कांग्रेसले त्यो प्रचलन तोड्यो । कांग्रेसका ६ जना सांसदहरु पूर्ववत प्रतिपक्षमा नै बसे ।

नेपाली काँग्रेस पनि प्रतिपक्षमा बसेपछि ३५ सदस्यीय प्रदेश सभामा सत्तापक्षको रो मा १२ जना मात्रै थिए । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकारलाई जोगाउन नेपाली काँग्रेसले वैशाख ३ गते मतदान गरेको थियो । सोही दिन एमालेका चार जना सांसदले पनि फ्लोर क्रस गरेर सरकारको पक्षमा मतदान गरेपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको थियो ।

‘नेपाली कांग्रेसले सरकारलाई मतदान गरेपछि सत्तापक्षको लाईनमा बस्छ होला भन्ने हामीलाई लागेको थियो, तर कांग्रेसका सांसद जीवनबहादुर शाहीले प्रतिपक्षमा नै बस्ने भनेका कारण सोही बमोजिम सिट निर्धारण गरेका हौं,’ प्रदेश सभा सचिवालयका एक कर्मचारीले भने, ‘उहाँहरु नै प्रतिपक्षमा बस्ने भएपछि हामीले सोही अनुसारको सिट व्यवस्थापन गरेका हौं ।’

प्रदेश सभामा हाल राप्रापाका एक, नेपाली कांग्रेसका ६ जना सांसद छन् । नेकपा माओवादी केन्द्रका १२ र नेकपा एमालेका १५ जना सांसद छन् ।

नेपाली कांग्रेस प्रतिपक्षमा बसेको देखेर नेकपा एमाले कर्णाली प्रदेशका सचिव धर्मराज रेग्मीले आश्चर्य समेत व्यक्त गरे ।

‘उहाँहरुले सरकारलाई जोगाउनु भएको हो । प्रमुख प्रतिपक्षी दलको हैसियतमा भएको अवस्थामा सरकारलाई मतदान गर्नु आफैमा आश्चर्य थियो । आज बैठकमा पनि उहाँहरुको दोहोरो चरित्र प्रस्तुत भयो,’ उनले भने ।

माओवादी केन्द्रले कारवाही गरेका निर्वतमान प्रदेश सभा सदस्य समेत रहेका सांसद रेग्मीले थप, ‘सरकार र कांग्रेसबीच केही गोप्य सहमति भएका कारण त्यो पुरा गराउन कांग्रेसले वार्गेनिङ्ग गर्न खोजको हुन सक्छ ।’

एमाले संसदीय दलका नेता प्रमुख सचेतक गुलावजंग शाहले सत्तापक्षभन्दा विपक्षी सांसद धेरै भएको भन्दै सधैं यसरी नै बस्न कांग्रेसलाई अनुरोध समेत गरे ।

‘हिजो र आजको बसाई अनुसार काँग्रेस पनि प्रतिपक्षमा बसेको छ । यस आधारमा हेर्दा सरकार अल्पमतमा परिसकेको देखिन्छ ।’ उनी भन्छन् ।

तर, नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाही भने आफुहरु सरकारमा नगएसम्मका लागि प्रतिपक्षमा नै बस्ने बताउँछन् ।

‘हामी प्रतिपक्षमा नै बस्छौं । सरकारमा नगएसम्म हामी सत्ता पक्षको लाइनमा गएर बस्ने कुरा हुँदैन,’ उनले भने ।

उनले सरकारमा तत्काल जाने वा नजाने बारेमा केही बताएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर