लुम्बिनीमा विशेष अधिवेशन डाकियो, अविश्वास प्रस्तावको छिनोफानो हुने – Nepal Press

लुम्बिनीमा विशेष अधिवेशन डाकियो, अविश्वास प्रस्तावको छिनोफानो हुने

रुपन्देही । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको टुंगो लगाउन वैशाख १९ गते विशेष अधिवेशन डाकिएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार १९ गते आइतबार दिनको एक बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको हो ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले विशेष अधिवेशन सम्बन्धमा पत्र प्राप्त भइसकेको र सभामुखसँगको छलफलपछि सूचना प्रकाशित गर्ने तयारी भइरहेको बताए ।

गत वैशाख ६ गते नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगाएतका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसलगत्तै विपक्षी दलले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन गरेका थिए ।

प्रदेशसभामा अहिले कायम रहेका ८५ सांसदमध्ये मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन् । त्यसैगरी हालै सरकारमा सामेल जसपाका ६ सांसद छन्, जसमध्ये ४ जना मन्त्री नै बनेका छन् ।

अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गरेको माओवादी केन्द्रका सभामुखसहित १८ र नेपाली कांग्रेसका १९ सांसद छन् । जसपामा एमाले र नयाँ मोर्चा कसलाई साथ दिने विषयमा विवाद छ ।

कांग्रेस माओवादीलाई साथ दिने २ सांसद जसपामा छन् भने १ सांसद भएको जनमोर्चाले अविश्वासको पक्षमा मतदान गर्ने घोषणा गरेको छ । कांग्रेस माओवादीले एमालेभित्रका केही सांसद र जसपाका सांसदले अविश्वासको पक्षमा मत हाल्ने अपेक्षासहित अगाडि बढेका छन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन चैत २५ गते अन्त्य भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर