पर्सामा बिहीबारदेखि निषेधाज्ञा, शवबाहन र जन्तीगाडी चलाउन अनुमति लिनुपर्ने – Nepal Press

पर्सामा बिहीबारदेखि निषेधाज्ञा, शवबाहन र जन्तीगाडी चलाउन अनुमति लिनुपर्ने

जनकपुरधाम । कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सूचनामार्फत निषेधाज्ञाको आदेश दिएका हुन् ।

वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको सूचनामा उल्लेख छ ।

निषेधाज्ञाको समयमा औषधि उपचार एवं अत्यावश्यक कामका लागि बाहेक घर बाहिर निस्कन पाइने छैन ।
मृत्यु संस्कार, विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्य र विकास निर्माणका आयोजनासँग सम्बन्धित सामग्री एवं जनशक्तिले प्रयोग गर्ने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सञ्चालन गर्न सकिने प्रजिअ घिमिरेले जानकारी दिए ।

उनका अनुसार मृत्यू संस्कार, विवाह र ब्रतबन्ध जस्ता समारोहको अनुमति पाएपनि १५ जनाभन्दा बढी मानिस सहभागी गराउन पाइने छैन ।

वीरगञ्ज इनर्वाबाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्ण रुपमा रोक लगाइएको प्रजिअ घिमिरेले बताए । अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक एवं नीजि सेवा प्रवाहलाई स्थगन गरिएको पनि बताए ।

खाद्य वस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय बाहेक अन्य सबै पसल, व्यवसाय सञ्चालन नगर्न आदेश दिएको छ । खाद्य वस्तुका पसल, व्यवसायहरु भने बिहान १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी खोल्न पाइने छ ।

यस्तै अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखेर आवत जावत गर्नुपर्ने प्रजिअ घिमिरेद्वारा जारी सूचनामा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *