तिलोत्तमाका ८ हजारले भरे ‘सुकुम्बासी फारम’, जग्गा पाउने आश – Nepal Press

तिलोत्तमाका ८ हजारले भरे ‘सुकुम्बासी फारम’, जग्गा पाउने आश

रुपन्देही । जग्गाधनी प्रमाणपत्र आउने आशामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ८ हजार जनाले भूमीसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् ।

नगरपालिकाले गरेको लगत संकलनमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिए ।

तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, एक हजार ७४० जनाले भूमिहीन सुकुम्बासी र पाँच हजार ५५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फारम भरेका हुन् ।

नगरपालिकाले दिएको विवरणअनुसार सबैभन्दा बढी वडा नं. ११ बाट आयोगको लगत संकलन फारम भरिएको छ । यहाँ १८० जना भूमीहीन दलित, ५३५ जना भूमिहीन सुकुम्बासी र दुई हजार ७६ जना अव्यवस्थित बसोबासी गरी दुई हजार ७९१ जनाले फारम भरेका छन् । यस्तै वडा नं. १२ बाट भूमिहीन दलित ८२, भूमिहीन सुकुम्बासी २१८ र अव्यवस्थित बसोबासी ७९६ गरी एक हजार ९६ जनाले फारम भरेका छन् ।

वडा नं. ७ बाट ५६२, वडा नं. १० बाट ५५३, वडा नं. ४ बाट ५३३, वडा नं. ३ बाट ४५९, वडा नं. १४ बाट ४२३ जनाले आयोगको लगत संकलन फारम भरेको नगरपालिकाले जनाएको छ । वडा नं. १७ मा सबैभन्दा कम भूमिहीन दलित सात, भूमिहीन सुकुम्बासी १० र अव्यवस्थित बसोबासी ३२ गरी जम्मा ४९ जनाले फारम भरेका छन् । वडा नं. २ मा ७४, वडा नं. ५ मा ७२, वडा नं. ९ मा ८१ जनाले आयोगको फारम भरेका छन् ।

यसैगरी वडा नं. १ बाट १४१, वडा नं. ६ बाट ३१६, वडा नं. ८ बाट ३६६, वडा नं. १३ बाट १५९, वडा नं. १४ बाट ४२३, वडा नं. १५ बाट १०७ र वडा नं. १६ बाट १३६ जनाले आयोगको लगत संकलन फारम भरेका छन् ।

तिलोत्तमा नगरपालिकाले भूमीसम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालय स्थापना गरेर आयोगको सूचनाअनुसार माघ ९ गतेबाट लगत संकलन कार्य सुरु गरेको थियो । कतिपय वडाले टोल-टोलमैं पुगेर लगत संकलनको काम गरेका थिए । त्यसको लागि सम्बन्धित वडा सचिवलाई जिम्मेवारी दिइएकोमा जनप्रतिनिधिहरुको साथैं वडास्तरीय सहजीकरण समितिको सहयोगमा लगत संकलन गरिएको थियो । वडाहरुबाट प्राप्त लगतलाई कम्प्युटरमा ईन्ट्री गर्ने, फाइल स्क्यानिङ गर्नेलगायतका काम अघि बढेको शाखा अधिकृत पोखरेलले जानकारी दिए ।

उनका अनुसार जग्गा नापजाँचको लागि आयोगले खटाएका सर्वेक्षक तथा अमिनबाट फिल्ड निरीक्षणको काम सकिएकोमा वडा नं. ११ मा कन्ट्रोल प्वाइन्ट स्थापनाको लागि पिलर समेत राखिँदै छ ।

फिल्ड कार्यको लागिको लागि आवश्यक उपकरणको व्यवस्थापन, नापजाँचको लागि जनशक्ति व्यवस्थापन भैसकेको नगरपालिकाले जनाएको छ । शाखा अधिकृत पोखरेलका अनुसार अमिन र सर्वेक्षक गरी १६ जनाको जनशक्ति नापजाँचको लागि खटिने छ ।

तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्नेलगायतका कामलाई प्राथमिकता दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर