‘अहिलेकै अनुपातमा संक्रमण बढे नियन्त्रण गर्न मुस्किल छ’ – Nepal Press

‘अहिलेकै अनुपातमा संक्रमण बढे नियन्त्रण गर्न मुस्किल छ’

सुर्खेत। विकट कर्णाली प्रदेशमा पनि दिनानुदिन कोरोना संक्रमित बढिरहेका छन् । सामान्य स्वास्थ्योपचारका लागि समेत अनेक सास्ती खेपिरहेका कर्णालीबासीलाई कोरोना कहरले झन् सताएको छ । कर्णालीमा कोरोना नियन्त्रण र संक्रमितको उपचारलगायत विषयमा कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्कासँग नेपालप्रेसकर्मी शेरबहादुर थापाले गरेको कुराकानीः

कर्णालीमा कोरोना संक्रमणको अवस्था के छ ?

जोखिम बढदै गइरहेको छ । भारतसँग सिधा नाका नजोडिए पनि कर्णालीबाट काम गर्न गएकाहरु फर्कने क्रम बढ्दो छ । भारतको संक्रमित क्षेत्रबाट फर्किएकाहरुबाट समुदायस्तरमा कोरोना संक्रमण हुने खतरा ज्यादा छ ।

कर्णालीमा अहिलेसम्म करिब ८ हजारमा संक्रमण देखिएको छ । प्रदेश अस्पताल कालागाउँमा २२ जना आइसीयुमा भर्ना भएका छन् ।

सुर्खेतमा मात्रै तीन सय पाँच जना होम आइसोलेसनमा छन् । ३२ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन् । तीन जना भेन्टिलेटरमा रहेर उपचार गराइरहेका छन् ।

अस्पतालमा कोरोना संक्रमितको चाप कतिको छ ?

पछिल्ला दिनमा विरामीको चाप अत्यधिक बढेको छ । दिन दुगुणा, रात चौगुणाका दरले संक्रमित थपिएका छन् । यहीं अनुपातमा संक्रमित बढेमा नियन्त्रण गर्न मुस्किल पर्ने देखिन्छ । उपचार गर्न पनि कठिन हुनेछ ।

कसरी व्यवस्थापन मिलाउने प्रयास भएको छ त ?

विगतमा रुकुम पश्चिमको चौजहारी अस्पताल, दैलेख जिल्ला अस्पताल, जुम्ला र सुर्खेतमा पिसिआर मेसिन जडान गरेका थियौं । त्यहाँ कोरोना जाँच धेरै कम भइरहेको थियो ।

संस्थागत आइसोलेसन पनि हामीले सञ्चालनमा ल्याएका छौं । कालिकोट, दैलेख, सल्यानलगायतका जिल्लामा यस्ता आइसोलेसन सेन्टर निर्माण गरेका छौं ।

हामीले दशै जिल्लामा सकेसम्म कोरोना नियन्त्रणका लागि अथक मेहनत गर्दै आइरहेका छौं । निर्देशनालयले सकेसम्म कोभिड विरामीको उपचारमा समस्या नआओस भनेर लागि परेको छ ।

समूदायमा कोरोना फैलिसकेपछि अब हाम्रो ध्यान भनेको उपचार प्रणालीलाई व्यवस्थित बनाउने भन्ने नै छ । प्रदेश भरिमा १४०० बेडहरु उपलब्ध छन् । आइसीयू ६२ वटा, ३४ वटा भेन्टिलेटर उपलब्ध छ ।

जुम्लाको, चौरजहारी र प्रदेश अस्पताललाई कोभिड अस्पतालको रुपमा सरकारले घोषणा गरिसकेको छ । यसका अलावा अन्य जिल्लामा रहेका जिल्ला अस्पताल, मेहलकुना अस्पताल र दुल्लु अस्पतालमा पनि कोरोनाका रोगीहरुको उपचार गर्ने व्यवस्था गर्ने पिसिएमसीले निर्णय गरेको छ ।

त्यहाँ सामान्य लक्षण भएका विारमीहरुको उपचार हुनेछ । गम्भीर खालका विरामीहरुका हकमा तीन वटा अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएका छौं ।

जाँचको दायरा फराकिलो, बनाएका छौं । विरमीको सम्पर्कमा आएकाहरुको जाँच गर्ने गरेका छौं । चारवटामध्ये अहिले प्रदेश अस्पताल कालागाउँमा मात्रै ल्याब संचालन गरिरहेका छौं ।

यसका अलावा एन्टिेजेन सबेै जिल्लामा पठाइसकिएको छ । आइसोलेसन वार्ड अहिले सात सय छन् । सुर्खेतमा दुई सय, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सय र बाँकी अन्य जिल्लामा गरी सात सय वेड थप्ने निर्णय भएको छ ।

अबको मुख्य चुनौती के हो ?

अहिले हामीलई अक्सिजनको चुनौती छ । मिनि अक्सिजन प्लान्ट सबै जिल्लामा स्थापना भएका छन् । टेलिमेडिसिन र हटलाईन सेवा सुरु गर्ने भएका छौं ।

अहिले हामीलाई जनशक्तिको पनि अभाव छ । आवश्यक जनशक्ति सञ्चालनका लागि प्रदेश सरकारले थप कदम उठाउने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर