लुम्बिनीका अधिकांश अस्पताल भरिए, वैकल्पिक व्यवस्था गर्न माग – Nepal Press

लुम्बिनीका अधिकांश अस्पताल भरिए, वैकल्पिक व्यवस्था गर्न माग

रुपन्देही । कोरोना संक्रमित बढेसँगै लुम्बिनीका अस्पताल भरिएका छन् । अस्पतालका बेड भरिएसँगै अस्पताल प्रशासन र चिकित्सकले वैकल्पिक व्यवस्थाको माग गरेका छन् ।

लुम्बिनीका चार जिल्लामा संक्रमण बढी फैलिएको छ । बाँके, रुपन्देही, दाङ, बर्दियामा दिनहुँ जटिल प्रकृतिका संक्रमित थपिइरहेका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार प्रदेशमा हालसम्म ३४ हजार १२८ जना संक्रमित भएकोमा २७ हजार ८४१ जना निको भएका छन् । अहिले भेन्टिलेटरमा २१, आइसियुमा १८१, आइसोलेसनमा ७७४ जनाको उपचार भइरहेको छ । धेरै विरामी यहाँ आइसियु बेड कुरेर बसेका छन् ।

संक्रमितमध्ये ५ हजार ५७४ जना होम आइसोलेसनमै बसेको तथ्यांक स्वास्थ्य निर्देशनालयले राखेको छ । लुम्बिनीमा अहिलेसम्म संक्रमणबाट ४९२ जनाको मृत्यु भएको निर्दशक डा. गिरीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशमा कोरोना विशेष आइशोलेसन अस्पताल ४ वटा रहेका छन् जसमा बेड संख्या १९२ रहेको छ । अन्य आइसोलेसन अस्पताल ८ वटा छन् जहाँ ३३४ बेड संख्या रहेको छ । त्यसैगरी ८ वटा आइसोलेसन सेन्टरमा १८३ बेड संख्या व्यवस्थापन भएको छ । यसरी जम्मा ७०९ बेड सख्या रहेकोमा त्यो भन्दा निकै धेरै बिरामी भएकाले पनि व्यवस्थापन गर्न समस्या भएको हो ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै प्रभावित बनेको बाँकेमा सोमबार रातिसम्म २५ सय सकृय संक्रमित पुगेका छन् भने जिल्लाभित्रका ८९ र जिल्ला बाहिरका १०९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकेमा सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिका बढी प्रभावित क्षेत्र बनेको छ । बाँकेमा भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजले कोराना विशेष अस्पतालका रुपमा सेवा दिइरहेका छन् ।

त्यसैगरी दोस्रो प्रभावित जिल्ला रुपन्देहीमा १४ सय सकृय संक्रमित पुगेका छन् । रुपन्देहीमा रहेका दुई कोरोना विशेष अस्पतालमा बिरामीले बेड भरिएका छन् ।

बाँके र बर्दियामा लकडाउन, रुपन्देहीमा जोरविजोर

कोरोना संक्रमणको हटस्पट बनेका क्षेत्र तथा जिल्लाहरुमा स्थानीय प्रशासनहरुले आवश्यक्ता अनुसार लकडाउन र निषेधआज्ञा लगाउन थालेका छन् ।

लुम्बिनी प्र्रदेशको बाँके र बर्दियामा सोमबार रातिदेखि एकसाताका लागि लकडाउन शुरु भएको छ । संक्रमित विरामी बढ्दै गएको र उपचारका लागि अस्पतालहरुमा वेडको अभाव हुन थालेपछि संक्रमण नियन्त्रणका लागि लकडाउन र निषेधआज्ञा लगाउन बाध्य भएको प्रशासनले जनाएका छन् । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले पाँच सय संक्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो ।

मंगलबारबाट रुपन्देहीमा सवारी संचालनको चापलाई कम गराउन जोरबिजोर प्रणाली लागू गरिएको छ ।

स्वर्गद्वारी दर्शनमा रोक

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र प्युठानले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई स्वर्गद्वारी दर्शनमा रोक लगाएको छ ।

कोरोना संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको केन्द्रले जनाएको छ । आईतबार जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको बैठकले स्वर्गद्वारी आश्रममा नित्य पूजाबाहेक भक्तजन र पर्यटनलाई रोक लगाउने निर्णय भएको हो ।

नवलपरासीमा पनि बेड अभाव, उपचारमा समस्या

पश्चिम नवलपरासीमा कोरोनाका विरामी बढेपछि सोमबारबाट जिल्लामा उपचारमा समस्या भएको छ । धेरै जसो विरामी अक्सिजन आवश्यक पर्ने अवस्थामा अपस्ताल आउने गरेको र जिल्लामा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमतिका गम्भीर बिरामीहरुलाई उपचारमा समस्या भएको जनाइएको छ ।

छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा बिरामीहरु जिल्ला अस्पतालमा छट्पटाएर बस्नु पर्ने बाध्यता छ ।

सोमबार बिहान कोरोना संक्रमितका गम्भीर बिरामी भइ आएका रामग्राम–९ का ४० वर्षीय युवालाई सुविधायुक्त अस्पतालमा पठाउन खोजिएपनि बेड अभावले पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

बिरामीलाई सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए । भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा गम्भीर बिरामीहरुको उपचार हुँदै आएको छ । दुवै अस्पतालमा सोमबार बिहानदेखि बेडको व्यवस्था गर्न अनुरोध गरेपनि बेड खाली नभएको जनाइएको छ ।

पछिल्लो पटक १५ दिनको अवधिमा रामग्राम नगरपालिका क्षेत्रमा दैनिक जसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने यो अवधिमा रामग्राममा मात्र ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर