नेपाल चिन्तन

प्रचण्डलाई माओवादकै बेइज्जत गर्ने छुट छ ?

माक्र्सवाद र लेनिनवादलाई माओत्सेतुङले चीनमा आफ्नो बिशिष्टता अनुसार प्रयोग गरेर एउटा राजनीतिक क्रान्ति सफल पारे । चिनियाँ क्रान्ति र त्यतिबेला प्रतिपादन गरिएको विचार र कार्यदिशाका सन्दर्भमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ठूलो बहस भयो । धेरै कम्युनिष्ट पार्टीले त्यसलाई माओ विचारधाराका रुपमा सश्लेषण गरे । पेरुमा गोञ्जालेले पहिलोपटक माओवादको रुपमा स्वीकार गरेर आन्दोलन अघि बढाए ।

त्यसपछि नेपालमा माक्र्सवाद, लेनिनवाद र माओवादलाई सार्वभौम सिद्धान्तका रुपमा स्वीकार गर्दै त्यसैलाई मार्गनिर्देशक सिद्धान्त मान्दै २०५२ साल फागुन १ गते जनयुद्धको थालनी भयो । र पार्टीको नाम पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) राखियो । पार्टीको नामको पछाडि माओवादी राख्नुको अर्थ माओले प्रतिपादन गरेको विचारको आत्मासाथ, रक्षा, प्रयोग र विकास गर्नु थियो ।

पार्टीले आत्मासाथ गरेको वैचारिक मूल्यमान्यताको आलोकमा पार्टीको नामाकरण गरिएको हो । किनकी पार्टीको नाम उसले अंगिकार गरेको राजनैतिक तथा वैचारिक कार्यदिशासँग अभिन्न रुपले जोडिएको हुन्छ ।

दश वर्षे जनयुद्धको क्रममा त्यही अभ्यास भयो । परिणामस्वरुप २०६४ सालको निर्वाचनमा माओवादी आन्दोलन मुलुककै मुख्य शक्तिको रुपमा उदायो । त्यसपछिका दिनमा भने फेरि माओवाद मान्ने या नमान्ने भन्नेमा विवाद सुरु भयो ।

एकताकेन्द्र मशालबाट एकीकरण प्रक्रियामा आएको नारायणकाजी श्रेष्ठ समूहले माओवाद मान्न नसकिने बताएपछि माओवाद÷विचारधारा राख्ने र थप बहस गरेर टुंगोमा पुग्ने भनियो । मूल पार्टीबाट अलग्गिएका मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, गोपाल किराँतीहरुले पनि नयाँ पार्टीको नाममा माओवादीको फुर्को जोडे ।

नेकपा एमालेसँग पार्टी एकीकरणका बेला माओवादी आन्दोलनका मुख्य सुत्रधार मानिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं माओवादी नाम त्याग्न तयार भए । त्योसँगै २१ औं शताब्दीको जनवादलाई पनि कोमामा पुर्याइयो ।

अहिले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई ब्युँताइदिएको छ । माओवादी आन्दोलनबाट जन्मिएको ठूलो पार्टीको रुपमा सर्वोच्चले पुनःअस्तित्वमा ल्याइदिएको छ । सर्वोच्चको फैसला लगत्तै बसेको उक्त पार्टीको केन्द्रीय कमिटी बैठकमा पुनः पार्टीको नाम परिवर्तन गर्ने एजेण्डा पेश भयो ।

यसअघि नेकपा एमालेसँग एकीकरणको सन्दर्भमा कमसेकम माओवादलाई महाधिवेशनसम्म बहसको विषय बनाउने समझदारी थियो । अहिले पार्टीको नामै परिवर्तन गर्नुपर्ने निष्कर्षमा नेताहरु किन पुग्दैछन् ? के एमालेभित्रको असन्तुष्ट समूहलाई एकताको बाटो खोल्नकै लागि पार्टीको नाम परिवर्तन गर्न लागिएको हो ? यदि त्यस्तो हो भने माओवादी आदोलनको उठान र नेतृत्व गर्ने नेताहरुमा कतिसम्म वैचारिक विचलन आएको रहेछ भन्ने कुरा पुष्टि हुन्छ । यो पार्टीको नामलाई मुख्य वैचारिक प्रस्थापना र मान्यतासँग जोड्नुको सट्टा सामान्य प्राविधिक विषय बनाइएको उदाहरण हो ।

समकालीन राजनीतिमा माओवादी आन्दोलनको वास्तविक प्रतिनिधित्व गर्ने नेता पाउन गाह्रो छ । प्राविधिक रुपमा पार्टीको नाम माओवादी देखिए पनि व्यवहारतः नेताहरुले माओवादलाई तिलाञ्जली दिइसकेका छन् ।

डा. बाबुराम भट्टराईले उहिल्यै माओवादी आन्दोलन परित्यागको घोषणा गरिसकेका हुन् । माओवादी आन्दोलनको रक्षक बताउने विप्लवले समेत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै राखेका छन् ।

माओवादी नामप्रति कसैले स्वामित्व ग्रहण नगर्नुले सिंगो माओवादी आन्दोलन र त्यसले स्थापित गरेका वैचारिक मूल्यमान्यतासँग मोहभंगको व्यवहारिक पुष्ट्याँइ हो ।

माओवादी आन्दोलन मुक्ति या मृत्युको कसम खाएर, टाउकोमा कात्रोको कफन बाँधेर युद्धमैदानमा लामबद्ध हज्जारौं पूर्व जनमुक्ति सेना, शहिद, बेपत्ता, घाइते, अपांग र लाखौं कार्यकर्ताहरुको आँशु, रगत र पसिनाको जगमा हुर्किएको थियो ।

अब मोहन वैद्य र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीमा माओवादीको फुर्को बाँकी छ । प्रचण्डले पार्टीको नामबाट माओवादी केन्द्रको फुर्को हटाए भने पनि आश्चर्य मान्नुपर्ने विषय रहेन । किनकी माओवादी आन्दोलनको रक्षा, प्रयोग, विकास र विस्तारको लक्ष्यबाट उनी निकै स्खलित भएको देखिन्छ । आफूलाई शक्तिको केन्द्रमा राखिराख्ने नाममा जुनसुकै समूहसँग मिल्ने र वैचारिक मान्यतालाई तिलाञ्जली दिने प्रवृत्तिले अब माओवादी आन्दोलन बचाउन सकिँदैन ।

‘नयाँ खोज्दै जाँदा पुरानाहरु छुटेको प्रचण्डको स्वीकारोक्ती छ । पुरानाहरुसँगको सम्बन्ध सुदृढ गर्ने बताए पनि अब उनले माओवादी आन्दोलनलाई पुर्नसंगठित गर्ने सम्भावना र आधार भत्किसकेको छ ।

माओवादी आन्दोलन मुक्ति या मृत्युको कसम खाएर, टाउकोमा कात्रोको कफन बाँधेर युद्धमैदानमा लामबद्ध हज्जारौं पूर्व जनमुक्ति सेना, शहिद, बेपत्ता, घाइते, अपांग र लाखौं कार्यकर्ताहरुको आँशु, रगत र पसिनाको जगमा हुर्किएको थियो ।

युद्धमा होमिएकाहरुको उचित व्यवस्थापन हुन नसक्दा उनीहरु देशविदेशमा दयनीय जीवन जिउँन बिवश छन् । दुई पटकसम्म प्रचण्ड प्रधानमन्त्री हुँदा उनीहरुको व्यवस्थापनको विषयमा केही हुन सकेन । बरु केपी ओली सरकारले ढिलै भएपनि उनीहरुलाई लोकतान्त्रिक योद्धाको रुपमा सम्मान दिन सुरु गरेको छ । अब उनीहरु पुनः प्रचण्डको संकटमोचन र रक्षाकवचका लागि तयार हुने अवस्था छैन ।

माओवादीले सबैभन्दा बढी प्रयोग गर्ने माओत्सेतुङको एउटा भनाइ छ, ‘राजनीतिक र विचारधारात्मक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको फैसला गर्छ, सही छ भने सबै कुरा प्राप्त भएर जान्छन्, बेठीक छ भने भएका कुराहरु पनि गुम्दै जान्छन् ।’

यही उक्तिलाई आधार मानेर विश्लेषण गर्दा पनि पछिल्लो कालखण्ड पार्टी र नेतृत्वले अख्तियार गरेको विचार र कार्यदिशा गलत सावित भएकै कारण आज माओवादी आन्दोलनले सबै गुमाउँदै जानुपरेको हो भन्न हिच्किचाउनु पर्दैन ।

जनयुद्धका क्रममा उठान गरिएका राज्यसत्ता परिवर्तनको मुद्धा सफल भयो । कम्युनिष्ट नैतिकता र आदर्श, सर्बहारावर्गीय व्यवहार, आचरण, जीवनशैली, कार्यशैली जस्ता विषयबाट नेताहरु च्युत भए । आन्दोलनका क्रममा घोकाइएका दर्शन/सिद्धान्त र नेताहरुको आजको व्यवहारबीचको आन्तरविरोध, माओवादी आन्दोलन धरासायी हुनुको अर्को कारण हो । आत्माकेन्द्रित, स्वार्थकेन्द्रीत, सत्ताकेन्द्रीत, पदकेन्द्रीत प्रवृत्तिले पार्टी जनताबाट अलगथलग बन्न पुग्यो ।

अब माओवादी आन्दोलनको दुखद अवसानको अन्तिम प्रतीक्षा गर्नुबाहेक अरु विकल्प रहेन ।

दलाल पुँजीवादको अन्त्य गर्ने भन्ने नेताहरु आफै दलाल पुँजीवादको दलदलमा फसे । यतिसम्मकी माओवादी आन्दोलनले स्थापित गरेको समानुपातिक/समावेशी उपलब्धीको भद्धा व्यापारीकरण गरियो । समानुपातिक टिकटहरु आन्दोलनमा लामो समयसम्म त्याग, तपस्या र बलिदान गरेको व्यक्तिलाई दिनुको सट्टा धनाढ्यहरुको हातमा थमाइयो । त्यसरी नेताहरुले बलिदानको उपलब्धी र मूल्यलाई कौडीको भाउमा व्यापार गरे ।

माओवादी आन्दोलनले सत्ता परिवर्तन त गर्यो तर स्थापित गरेका थुप्रै नयाँ आयाम र मूल्यहरु इतिहासकै गर्भमा विलिन हुँदैछ । प्रचण्डकै नेतृत्वमा माओवादी आन्दोलन उठान भयो र उनकै नेतृत्वमा विघटन र बिसर्जनको अवस्थासम्म पुग्दैछ । माओवादी जनयुद्ध एउटा इतिहास बन्यो । त्यसमा बलिदान गर्ने हज्जारौं शहिद, बेपत्ता, घाइते तथा अपांग र लामबद्ध लाखौंलाख कार्यकर्ताहरु इतिहासका पात्रहरु बने ।

त्यसैले उनीहरुका अगाडि अब माओवादी आन्दोलनको दुखद अवसानको अन्तिम प्रतीक्षा गर्नुबाहेक अरु विकल्प रहेन । इतिहास र बिरासत भनेको कुनै अमुक नेताहरुको अस्तित्व रक्षाको साधन होइन, विचार र आन्दोलनको प्रतिक हो ।

आमकार्यकर्ता, जनता, शहिद, बेपत्ता योद्धा, घाइते अपांगका परिवारले खाजेको इतिहास र बिरासतलाई रद्धीको टोकरीमा मिल्काइसकिएको छ । त्यसैले माओवादी विचार र आन्दोलन विसर्जनको दिशातर्फ जानुको जिम्मा नेताहरुले लिनुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *