कास्कीमा बुधबारदेखि निषेधाज्ञा, यातायातमा जोरबिजोर लागू – Nepal Press

कास्कीमा बुधबारदेखि निषेधाज्ञा, यातायातमा जोरबिजोर लागू

पोखरा । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि कास्कीमा पनि सुरक्षा व्यवस्था बढाइएको छ ।

बैशाख १५ गते बिहानदेखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कामहरु बन्द गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ ।

कार्यालयले मानवीय भिडभाड हुने सबै क्षेत्र बन्द गरे पनि सार्वजनिक तथा निजी यातायात भने बन्द गरेको छैन ।

बुधबार यातायातमा जोरबिजोर लागू गर्ने गरी ‘आंशिक’ लकडाउन गर्ने प्रशासनले आदेश जारी गरेको हो ।

‘यातायातबाहेक धेरै कुरा निषेध गरिएको छ । त्यसैले यो निषेधाज्ञा नै हो,’ सहायक सिडिओ श्रीनाथ पौडेलले भने ।

कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले सहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भेटिएको ठाउँमा लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउन गर्न सम्बन्धित जिल्लाका सिडिओले अधिकार दिइएको थियो । कास्कीमा सोमबारसम्म ६ सय ६४ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कास्कीमा कोरोनाबाट १ सय २० जनाको मृत्यु भएको छ । सोमबारमात्रै कास्कीका २ जना संक्रमितको मृत्यु भएको थियो ।                                                 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *