शब्दचित्रमा मनमोहन : कहिल्यै नथाकेका योद्धा, जनप्रिय नेता

आज वैशाख १३ गते । बिहानै नुहाएर कपालबाट तपतप पानी चुहिँदै गर्दा मनमा एक वर्षअगाडिका स्मृतिहरु मानसपटलमा चुहिए तपतप । श्रद्धेय नेता मनमोहन अधिकारीको सम्झनामा हामीले गरेको द्विप प्रज्ववनको स्मृति मात्रले मन प्रकाशित भएझैं भयो ।

यस वर्ष कोरोनाको कहरले गर्दा कुनै औपचारिक कार्यक्रम गरी उहाँलाई श्रद्धाञ्जली दिन सक्ने अवस्था छैन । त्यसैले मनको द्विप बालेर आज हामी उहाँलाई सम्झिरहेका छौं । एउटा सादगी र त्यागी नेता, जसले नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा जनताको मन जित्नुभयो, मजस्तो युवाका लागि सदैव प्रेरणास्रोत हुनुहुन्छ ।

प्रजातन्त्रका अथक योद्धा

नेपालमा निरंकुश राणा शासन १०४ वर्षसम्म निरन्तर चल्यो । त्यसबेला नागरिकलाई कुनै पनि स्वतन्त्रता थिएन । राजनीतिक, शैक्षिक लगायतका क्षेत्रमा पूर्ण बन्देज थियो । शिक्षाको महत्व बुझेका र आर्थिकरुपमा क्षमतावान व्यक्तिहरु पढ्नका लागि भारततिर जाने गर्थे । भारतीय जनताले अंग्रेज शासनविरुद्ध स्वतन्त्रताका लागि गरेको आन्दोलनको प्रभाव त्यहाँ अध्ययनरत नेपाली युवामा पनि पर्‍यो । तीनै युवामध्येका एक हुनुहुन्थ्यो मनमोहन अधिकारी ।

वि‍.सं‍‍. १९९९ को ‘भारत छोडो’ आन्दोलनमा भाग लिएकै कारण उहाँ पहिलोपल्ट पक्राउ परी भारतीय जेलमा थुनिनुभयो । जेलमा भारतीय कम्युनिस्ट नेताहरूसँगको सम्पर्कका कारण कम्युनिष्ट विचारधारातर्फ आकर्षित हुनुभयो । करिब डेढ वर्षको जेल बसाइपश्चात पाँच वर्षजति भारतकै विभिन्न क्षेत्रमा रही काम गर्नुभयो । अनि नेपालमै आन्दोलनको अगुवाइ गर्ने लक्ष्य बोकेर फर्किनुभयो ।

नेपालमा उहाँले विराटनगर कटन मिल्समा केमिस्टको नोकरी गर्नुभयो । विराटनगर नगरीमा रघुपति जुट मिलबाट उठेको मजदुर आन्दोलनबाट सुरू भएको थियो मनमोहनको नयाँ राजनीतिक संघर्ष । जुट कारखानामा एउटा मजदुरलाई परेको यातना र दुःख उहाँलाई सैह्य भएन । त्यसपछि उहाँले मजदुरका अधिकार कानुनमा सुनिश्चित हुनुपर्छ भनेर २००३ सालमा ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गर्नुभयो । ट्रेड युनियनको नेता बन्नुभयो ।

मजदुर आन्दोलनकै सिलसिलमा मनमोहन तीन वर्ष जेल पर्नुभयो । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । त्यसबेला उहाँ जेलमै हुनुहुन्थ्यो । जेलबाट रिहा भएलगत्तै नेकपाका संस्थापक नेता पुष्पलाल उहाँलाई भेट्न रक्सौल आउनुभएको थियो । त्यहाँ भएको सौहार्दपूर्ण भेटघाट र छलफलपछि नेकपासँग अटुट सम्बन्ध र नेतृत्वदायी भूमिका रह्यो उहाँको ।

२००७ सालको राणाविरोधी संघर्षका क्रममा उहाँलाई भारतीय समाजवादी पार्टीका मुक्ति सेनाका जवानहरूले पक्राउ गरी १२ दिनसम्म हिरासतमा राखेका थिए । २००८ सालमा कलकत्तामा सम्पन्न भएको पार्टीको पहिलो सम्मेलनबाट पोलिटब्यूरो सदस्य भएका उहाँलाई वि.सं. २०१० मा भएको प्रथम महाधिवेशनबाट महासचिवमा निर्वाचित गरियो । यही बेला मनमोहन उपचार गर्न चीन जानुपर्ने भएपछि केशरजङ रायमाझीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिनु्भएको थियो ।

त्यतिबेला नेपालमा धेरै राजनीतिक उतारचढाव आयो । त्यसलाई नेतृत्वले बुझ्न सकेन । जसका कारण कम्युनिस्ट पार्टीमा थुप्रै मतभेदहरू देखिए । २०१७ साल पौस १ गतेको राजा महेन्द्रबाट भएको ‘कु’ मा मनमोहन अधिकारी विराटनगरबाट गिरफ्तार हुनुभयो । त्यसको ८ वर्षपछि ०२५ को अन्त्यतिर मात्र उहाँ छुट्नुभएको थियो ।

जेलबाट छुट्दा दिएको वक्तव्यलाई लिएर कतिले उहाँलाई ‘राजावादी’ को आरोपसमेत लगाए । यद्यपि उहाँले राजा र पञ्चायतसामु कहिल्यै पनि नझुकेर आफूमाथि लागेको आरोपलाई गलत सावित गरेर देखाउनुभयो । कम्युनिस्ट पार्टीमा आएको विभाजनलाई लिएर उहाँ सदैव चिन्तित रहनुहुन्थ्यो । त्यसैले विभाजनविरूद्ध एकताको प्रयासलाई अगाडि बढाउने उद्देश्यले मनमोहनसहित ३ जनाको केन्द्रीय न्युक्लियस गठन भयो । यसले एकताको प्रयासलाई बढाउन नपाउँदै न्युक्लियसभित्रै विभाजन सुरु भयो । त्यसपछि केही समय उहाँले चुपचाप रहनु नै उचित ठान्नु भयो ।

२०२८ सालमा पूर्व कोशीप्रान्तीय ‘कार्यकर्ताविहीन नेता’ का रूपमा रहेका मनमोहनले ०३६ सालमा नेकपा (मनमोहन) नामको छुट्टै पार्टी खोली महासचिव बन्नुभयो । यसपश्चात देशमा थुप्रै राजनीतिक उतारचढावहरु भए । जनमत संग्रहमा पञ्चायतको विजय भएको घोषणा गरेलगत्तै मनमोहनले प्रमाणसहित जनमत संग्रह निष्पक्ष नभएको भन्दै त्यसको विरोध एवं भत्र्सना गर्नुभयो । त्यसपछि पञ्चायती शासकहरूको दमन तीव्र भयो ।

त्यतिबेला सानो पार्टीको नेतृत्व गरे पनि उहाँ सबैखाले दमन र अत्याचारका विरुद्ध उभिनुभएको थियो र पञ्चायत विरोधी संर्घषमा ऐक्यबद्धता जाहेर गरिरहनुभएको थियो । वि.सं. २०४६ मा भएको जन–आन्दोलनको पहिलो दिनमा नै पक्राउ गर्नुभएका मनमोहन आन्दोलन सफल भएपछि चैत्र २६ गते राति मात्र छुट्नुभएको हो ।

जनप्रिय कम्युनिष्ट प्रधानमन्त्री

प्रजातन्त्र पुनस्र्थापनपछि समयको माग र अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा गुट र उपगुटमा विभाजित कम्युनिस्ट पार्टीका नेताहरूले आपसी एकताका लागि प्रयास गर्न थाले । एउटै कम्युनिस्ट पार्टी बनेमा शक्तिशाली हुने र देशमा राजनीतिक स्थिरता आउने भएकोले २०४६ को सफल जनआन्दोलनपश्चात् २०४६ पौष २२ गते अधिकारीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी) र मदन भण्डारीले नेतृत्व गरेको नेकपा (माले) एकीकृत भई नेकपा (एमाले) गठन भयो । एकतापछि बनेको पार्टीको अध्यक्षमा उहाँ सर्वसम्मत छानिनुभयो ।

२०४९ सालमा भएको नेकपा (एमाले) को पाँचौँ महाधिवेशनबाट उहाँ पुनः अध्यक्ष निर्वाचित हुनुभयो । प्रजातन्त्रको पुनस्र्थापना पश्चात् भएको पहिलो आम निर्वाचनमा मनमोहन नेतृत्वको एमाले पार्टीले ६९ सिटमा विजय हासिल गरी उहाँलाई संसदमा प्रतिपक्षी दलको नेता चयन गर्‍यो । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा २०५ मध्ये ८९ सिट ल्याई एमाले संसदमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुन पुग्यो ।

ठूलो पार्टीको हैसियतले एमालेले अल्पमतको सरकार गठन ग¥यो । मनमोहन अधिकारीले इतिहासको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गनुर््भयो । उहाँको नेतृत्वमा नौ महिना मात्र शासन सत्ता सञ्चालन गर्न पाएको सरकारले नेपालको इतिहासमै सबैभन्दा जनपक्षीय र लोकप्रिय सरकारका रूपमा आफूलाई स्थापित गर्न सक्यो ।

सबैका प्रेरणा स्रोत

‘मलाई देशको प्रधानमन्त्रीभन्दा असल मानिस भनेर चिने पुग्छ’ भन्ने उद्घारले नै मनमोहनलाई वास्तविक अर्थमा चिनाउँछ । २००३ सालदेखिको अनवरत राजनीतिक संघर्ष र त्याग सबैका लागि प्रेरणास्रोत बन्न पुगेको छ ।

मनमोहन जति दिन सत्तामा रहनुभयो, जनताकै पक्षमा काम गर्नुभयो । त्यसैले त उहाँ बालक, युवा, वृद्ध सबैका आशाका धरोहर बन्न सफल हुनुभयो । ‘आफ्नो गाउँ, आफैँ बनाउँ’ भनेर अर्थतन्त्रको जग खन्नुभयो उहाँले । उहाँलाई देशका ज्येष्ठ नागरिकहरुले कहिल्यै भुल्ने छैनन् किनकी उहाँकै सरकारको पालामा वृद्धभत्ताको सुरुवात गरिएका थियो । मनमोहनको सरकारले मासिक १ सयबाट सुरु गरेको वृद्धभत्ता आज केपी ओलीको पालामा मासिक ३ हजार पुगेको छ । यस कार्यका लागि मनमोहनले वृद्धवृद्धाबाट निकै आशिर्वाद पाउनुभएको थियो ।

आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि उहाँ देश र जनताको सेवामा तल्लीन हुनुहुन्थ्यो । उहाँले कहिल्यै थकाइ मानुभएन । कहिल्यै कुनै लोभलालचमा फस्नुभएन । कुनै विवादमा मुछिनुभएन । त्यसैले त उहाँलाई एमालेभित्र मात्र नभएर बाहिर पनि सम्मानपूर्वक स्मरण गर्ने गरिन्छ ।

उहाँको व्यक्तित्व र योगदानको चित्रण गर्न एउटा आलेख काफी छैन । मैले जानी–नजानी यति लेखेँ । उहाँको विचार हाम्रो पुस्ताको लागि एउटा मार्गदर्शन हो । उहाँका सपनाहरुलाई साकार गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका मुर्धन्य व्यक्तित्व तथा पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीको २१ औँ स्मृति दिवसको सन्दर्भमा फेरि पनि हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । तपाईंको संघर्ष, सपना, योगदान र ज्ञानहरू सदैव हाम्रो मस्तिष्क र हृदयमा रहिरहने छन् र जीवन उपयोगी हुनेछन् ।

(लेखक अनेरास्ववियूकी केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया

2 thoughts on “शब्दचित्रमा मनमोहन : कहिल्यै नथाकेका योद्धा, जनप्रिय नेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *