टेकु अस्पतालको आकस्मिक कक्षमा भेटिएका बेचैन अनुहार – Nepal Press
टेकु अस्पतालको आकस्मिक कक्षमा भेटिएका बेचैन अनुहार
समर्पण श्री २०७८ वैशाख १३ गते १९:०३
विजय गजमेर २०७८ वैशाख १३ गते १९:०३

‘डेढ घण्टा भयो आएको । बिरामीलाई भेन्टिलेरमा राख्नुपर्ने अवस्था छ । तर, कतै खाली छैन,’ एक आमा व्यग्रतासाथ भन्दै थिइन् । उनकी छोरी धमाधम मोबाइलमा नम्बर दवाइरहेकी थिइन् ।

‘कसलाई ल्याउनुभएको छ यहाँ ?’ हामीले नजिक गएर सोध्यौं ।

‘मेरो श्रीमान्लाई ल्याएको,’ उनले हामीतिर नहेरी जवाफ दिइन् ।

ड्युटीका एक डाक्टर बाहिर आए । ‘कतै पाइएन ?’ उनले महिलातर्फ फर्कँदै सोधे ।

‘अहँ, पाइएन,’ महिलाले निरीह भावमा भनिन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा थियौं हामी । अस्पतालको आकस्मिक कक्षमा करिब २ बजेतिर पुग्दा यी आमाछोरी बेचैन अवस्थामा भेटिएका थिए ।

महिलाका श्रीमान ५० वर्षीय सञ्जय सिंह आकस्मिक कक्षमा सुताइएका छन् । उनको अवस्था गम्भिर छ । अक्सिजन लेभल ४० प्रतिशतमा झरेको महिलाले बताइन् ।

‘४/५ गतेदेखि बिरामी हुनुहुन्थ्यो, तर यस्तो साह्रो भएको थिएन,’ यसो भनिरहँदा सञ्जयकी पत्नीको आँखाभरि आँशु टल्पलाएका थिए ।

उनका अनुसार ११ गतेबाट सञ्जयको अवस्था बिग्रीयो । सोही दिन बिहान ४ बजे परिवारले ग्रिन सिटी हस्पिटल लगेका थिए । त्यहाँ उपचार नहुने भएपछि चिरायु अस्पातलतिर कुदाइयो । त्यहाँ टेस्ट गर्दा कोभिड पुष्टि भयो ।

अस्पतालको सुझावअनुसार परिवारले उनलाई घरमै ल्याएर अक्सिजन दिए । तर, अवस्थामा सुधार आएन । झन् गाह्रो हुँदै बिहान अस्पताल खोज्नतिर लागे आमाछोरी । तर, भर्ना पाउनै मुस्किल ।

‘म रिपोर्ट लिएर घर आइपुग्दासम्म उहाँ एकदमै सिरियस हुनुहुनथ्यो,’ महिलाले सुनाइन् ।

लगत्तै उनले वडाध्यक्षलाई फोन गरिन् । वडाध्यक्षले एम्बुलेन्स पठाए । बुढानिलकण्ठस्थित हात्तीगौंडाबाट टेकु ल्याइयो ।

‘टेकुमा आइपुग्दा अक्सिजन लेभल ४० मात्र रहेछ । तर भेन्टिलेटर छैन,’ उनले भनिन् ।

भेन्टिलेटरका लागि एम्बुलेन्स चालक पनि फोन घुमाउँदै थिए ।

‘अहँ, त्यहाँ पनि रै’नछ,’ फोन काट्दै उनले भने । आमाछोरीको आँखामा फेरि निराशा छायो ।

(आकस्मिक कक्षको गेटको बायाँ साइडमा ‘एल्लो जोन’ थियो । ‘कोभिडका बिरामीका लागि सिटी’ लखिएको ठाउँमा संक्रमितका आफन्त घरि यता घरि उता गरिरहेका थिए ।

‘सर नमस्ते । कोभिडको बिरामीलाई भेन्टिलेटर चाहिएको छ । एकदम इमर्जेन्सी छ,’ एम्बुलेन्स चालकले पुनः अर्को अस्पतालमा फोन लगाए ।

‘हजुर हजुर ल्याण्डलाइनमा हामीले कल ग¥यौं तरर खासै रेस्पोन्स भएन,’ उनी भन्दै थिए ।

उताबाट नम्बर नम्बर दिइन्छ । उनी नम्बर टिपाउन लगाउँछन् । छोरी नम्बर डायल गर्छिन् र चालकलाई दिन्छिन् ।

‘मलाई हाम्रो सरले फोन नम्बर दिनुभएको । भेन्टिलेटर चाहिएको थियो ।’ चालक भन्छन् ।

फेरि उताबाट अर्को नम्बर टिपाइन्छन् । त्यो नम्बरमा पनि फोन हान्छन् ।

‘भयो त ?’ फोन राख्नेवित्तिकै चालकलाई अर्का एक व्यक्ति सोध्छन् ।

‘अहँ छैन रे,’ उनले निराश भन्दै भन्छन् ।

आमाछोरी स्तब्ध मुद्रामा थिए । केही मिनेटपछि ड्युटीमा खटिएका डाक्टर बाहिर निस्कँदै भन्छन्, ‘चिन्ता नगर्नु । तपाईंको बिरामीलाई सुधार भएको छ ।’

त्यसपछि आमा छोरीको मुहारमा थोरै खुसी झल्कियो ।

ती डाक्टरसँग हामीले सोध्यौं, ‘बेड पाउनै मुस्किल छ है ?’

‘५ बेडको इमर्जेन्सीलाई १८ बेड बनाइसकेका छौं । ल्याउने थप्ने, भइरहेको छ । तर पनि पु¥याउन गाह्रो छ,’ ती डाक्टरले भने ।

अक्सिजन सिलिण्डर पनि बेडअनुसार थपिरहेको उनले बताए ।

‘अहिले पनि ५ वटा सिलिण्डर नयाँ थप्न लागिरहेका छौं,’ उनले भने ।

बिरामीले भेन्टिलेटर नपाउँदा उनी पनि चिन्तित थिए उनी ।

‘कोही बिरामी मर्नै आँट्यो भने मात्र भेन्टिलेटर पाउने अवस्था हुन्छ । नत्र अहँ…’ आफ्नो नाम खोल्न नचाहने ती डाक्टरले सुनाए ।

उनी थकित पनि देखिन्थे ।

‘फुर्सद छैन । कोभिडका बिरामीलाई एम्बुलेन्सबाटै उचालेर ल्याउनुपर्छ,’ उनले भने ।

गत दसैंको बेलामा संक्रमित अत्यधिक थिए । अहिलेको अवस्थाले त्यसलाई पनि माथ गरेको उनको अनुभव छ ।

‘अहिले युवाहरू संक्रमित धेरै छन् । गम्भीर पनि उनीहरू नै छन्,’ उनले भने ।

पिपिई लगाएका अर्का स्वास्थ्यकर्मी भन्दै थिए ‘हाम्रो दुई जना स्टाफ हुनुहुन्छ । उहाँहरूले अहिलेसम्म खाना खान पनि भ्याउनुभएको छैन ।’

त्यही क्रममा हुइकिँदै आयो अर्को एम्बुलेन्स । एम्बुलेन्समा बिरामी र उनका आफन्त थिए ।

‘कुन बिरामी हजुरको ?’ स्वास्थ्यकर्मीले सोेधे ।

‘कुकुरले टोकेर ल्याएको,’ आफन्तले भने ।

‘त्यसको त यहाँ हुन्न नि । कोभिडको मात्र हो ।’

एम्बुलेन्स फर्कियो ।

०००

टेकु अस्पतालले दैनिक कम्तिमा १५ जनालाई बेड अभावमा अन्यत्र पठाउँदै आएको छ । अस्पतालमा आइसियु २२ र आइसोलेसन ३८ बेड क्षमताका छन् । यतिबेला बिरामी संख्या व्यवस्थापन गर्न अति निकै चुनौति भएको अस्पतालका निर्देशक डा सागरराज भण्डारी बताउँछन् ।

‘आइसीयु, भेन्टिलेटर बेड खाली छैन । अस्पतालको भेन्टिलेटर २० वटा छन् । ती सबै प्याक छन्,’ उनी चिन्ता व्यक्त गर्छन् ।

आइसीयु र भेन्टिलेटरमा राख्नुपर्नेलाई अन्य अस्पतालमा सम्पर्क गरेर पठाउनुपरेको बाध्यता उनले सुनाए ।

‘९० प्रतिशत बिरामी एकदमै गम्भीर प्रकारको हुनुहुन्छ । सबैलाई अक्सिजन दिएर राख्नुपर्ने अवस्था छ,’ उनी भन्छन् ।

अस्पतालमा एउटै परिवारका ५/६ जना सदस्यसमेत भर्ना भएका छन् । अस्पतालका अनुसार दैनिक तीन सय जनाको पीसीआर परीक्षण हुन्छ । अस्पतालमा भिडभाड हुने देखिएपछि खोप कार्यक्रम पनि बन्द गरिएको डा. भण्डारी बताउँछन् ।

अस्पतालमा संक्रमितको उपचार व्यवस्थापन गर्न कठिनाइ भएको बेला सर्वसाधारणले स्वास्थ्य मापदण्ड नअपनाएकोमा उनको गुनासो छ ।

‘एकातिर अस्पतालमा व्यवस्थापन गर्न चुनौती छ र अर्कोतिर सार्वजनिक यातायातका साधनमा जनस्वास्थ्यका मापदण्ड अपनाइएको छैन । सरकारी कार्यालयमा भिडभाड छ । यसले त झन् भयावह अवस्था आउन सक्छ,’ उनले भने ।