रुपन्देहीमा भोलिदेखि सवारी साधनमा जोरविजोर प्रणाली लागू – Nepal Press

रुपन्देहीमा भोलिदेखि सवारी साधनमा जोरविजोर प्रणाली लागू

रुपन्देही । कोरोना संक्रमण बढ्न थालेपछि वैशाख १४ गतेदेखि रुपन्देहीमा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि १४ वैशाखदेखि जिल्लाभित्र चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसहित जिल्लाका सबै स्थानीय तहका प्रमुखसँगको छलफलपछि जिल्लाभित्र सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गत आइतबार गरिएको थियो ।

यता विद्यालयहरू बन्द र जिल्लामा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएपनि सीमाबाट भारत हुँदै आउने नेपालीहरूको पहिचान र परीक्षणमा सीमामा खटिएका स्वास्थ्यकर्मी गम्भिर नहुदाँ सङ्क्रमितहरू त्यतिकै भित्रिने सम्भावना रहेको छ ।

बेलहिया नाकामा अहिले सिद्धार्थनगर नगरपालिकाका काम गर्ने स्वास्थ्यकर्मीसँगै संघले खटाएका स्वास्थ्यकर्मी भएपनि आफ्नो कामप्रति जिम्मेवार नहुँदा संक्रमणको दर अझै बढ्ने सरोकारवालाको चिन्ता छ ।

पहिले अध्यागमन कार्यालय रहेको भवनमा अहिले २ बेड आइसोलेसनसहितको हेल्थ डेस्क स्थापना गरिएको छ । होल्डिङ्ग सेन्टर, एन्टिजेन परीक्षणको ब्यवस्था गरिएको छ । बेलहिया नाका हुँदै औसतमा दैनिक २ सय ५० जना लामो दूरीबाट आउने नेपालीहरु नेपाल प्रवेश गरिरहेका छन् ।

२४ घण्टामा २ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिए

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवलमा ५९ महिला ६२ पुरुष, सिद्धार्थनगरनगरपालिकामा १९ महिला २३ पुरुष, तिलोत्तमा नगरपालिकामा २३ महिला ३१ पुरुष थपिएका हुन् ।

त्यस्तै सियारी गाउँपालिकामा १ पुरुष २ महिला, देवदह नगरपालिकामा ५ महिला ६ पुरुष, मायादेवी गाउँपालिकामा २ पुरुष, सैनामैना नगरपालिकामा ४ महिला ८ पुरुषमा कोरोना संक्रमण देखिएको हो । यसैगरी ओमसतिया गाउँपालिकामा ३ महिला, कञ्चनमा २ महिला १ पुरुष, शुद्धोधनमा ४ पुरुष १ महिला, कोटहिमाईमा १ पुरुष र लुम्बिनी सांस्कतिक नगरपालिकामा ५ पुरुष र १ महिला गरी कुल २ सय ६३ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै जिल्लामा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । रुपन्देहीमा हालसम्म १ हजार ४ सय ४ जना संक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर