नेकपा प्रवेश गरेका मनाङे एमाले बन्न मानेनन्, खोजे स्वतन्त्रको सिट – Nepal Press

नेकपा प्रवेश गरेका मनाङे एमाले बन्न मानेनन्, खोजे स्वतन्त्रको सिट

पोखरा । गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको साथ छोड्ने संकेत गरेका छन् । उनले अहिले आफूले कुनै ‘माइन्ड मेकअप’ नगरेको तर, जनमोर्चाले जे गर्छ त्यही गर्ने नेपाल प्रेसलाई प्रतिक्रिया दिएका छन् ।

‘अहिले नै केही गर्ने भन्ने माइन्ड मेकअप गर्‍या छैन । तर, जनमोर्चाले जे गर्छ मैले पनि गर्ने त्यही हो,’ सांसद मनाङेले भने । मनाङेलाई ७६ असार ११ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन नेकपामा प्रवेश गराएका थिए । तर, पार्टी प्रवेशको जानकारी प्रदेश सभा सचिवालयमा जानकारी नदिएका कारण कानुनी रुपमा उनी स्वतन्त्रकै हैसियतमा छन् ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्ने बताउँदै आएको छ । ३ सदस्यीय जनमोर्चा गण्डकी प्रदेशको सत्ता समीकरणको निर्णायक भूमिकामा छ । तर, केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले अविश्वास प्रस्तावलाई साथ बताएपछि अहिले मुख्यमन्त्री गुरुङ प्रष्ट अल्पमतमा छन् ।

अहिलेसम्म सत्तापक्षीय दीर्घामा बस्दै आएका उनले सोमबार आफूलाई अलग्गै ठाउँ माग्दै प्रदेश सभा सचिवालयमा निवेदनसमेत दर्ता गरिसकेका छन् । मनाङबाट एमालेको समर्थनमा स्वतन्त्र चुनाव जितेका मनाङे सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा पनि उनी सत्तापक्षीय दीर्घामै बसेका थिए । तर, अहिले सत्तापक्षीय ‘टिम’ छुटिइसकेकाले आफू पनि छुट्टै बस्न पाउनुपर्ने उनको माग छ ।

‘पहिले एमाले थिएन । अहिले सबै आ-आफ्नै गुटमा बस्न थालेपछि मैले पनि त स्वतन्त्र ठाउँ पाउनुपर्‍यो । अलग्गै बस्नुपर्‍यो,’ मनाङेले नेपाल प्रेससँग भने, ‘अब त म पैला बस्याजस्तो हैन नि ! मलाई मेरो कुर्ची पायो भने त्यसैमा बस्ने भन्या’छु ।’

६० सिटे गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन ३१ मत चाहिन्छ । प्रदेश सभामा सत्तारुढ दल नेकपा एमालेसँग २७ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग १५, माओवादी केन्द्रसँग सभामुखसहित १२, जसपासँग २ र जनमोर्चासँग ३ सांसद छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेर कांग्रेससहित माओवादी केन्द्र र जसपाका २८ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । जुन सोमबारको विशेष अधिवेशनमा पेस भएको छ । पेस भएको अविश्वास प्रस्तावमा सोमबारदेखि छलफल सुरु भएको छ भने १५ गते मतदान गरेर गुरुङ नेतृत्वको प्रदेश सरकारको छिनोफानो लाग्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर