महामारीको धेरै मार श्रमजीविलाई पर्ने भन्दै विशेष सहयोगको व्यवस्था मिलाउन प्रचण्डको माग – Nepal Press

महामारीको धेरै मार श्रमजीविलाई पर्ने भन्दै विशेष सहयोगको व्यवस्था मिलाउन प्रचण्डको माग

काठमाडौं । कोभिड-१९ को सबैभन्दा धेरै मार श्रमजीवि जनतालाई पर्ने भन्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सहयोगको व्यवस्था मिलाउन सरका र नीजि क्षेत्रसँग अपील गरेका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गर्दछु।’

सरकार शिलान्यास र उद्घाटनमा केन्द्रित भएको आरोप लगाउँदै उनले जनताको स्वास्थ्यमा खेलवाड नगर्न समेत आग्रह गरेका छन्।

‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ,’ प्रचण्डले भनेका छन्, ‘म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’

तीनै तहका सरकार तथा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई स्वयम्सेवीका महामारीका विरुद्धको लडाइँमा लाग्न समेत उनले आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *