बाँकेका स्वास्थ्यकर्मीको माग सम्बोधन, प्रदेशले बजेट र केन्द्रले दरबन्दी दियो – Nepal Press

बाँकेका स्वास्थ्यकर्मीको माग सम्बोधन, प्रदेशले बजेट र केन्द्रले दरबन्दी दियो

रुपन्देही । प्रदेश र केन्द्र सरकारले बाँकेका स्वास्थ्यकर्मीको माग सम्बोधन गरेको छ । सोमबार प्रदेश सरकारले अक्सिजनसहितको बेड व्यवस्थापनका लागि ५० लाख रुपैयाँ व्यवस्थापन गरेलगत्तै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी भर्ना गर्न दरबन्दी स्वीकृत गरेको हो ।

कोरोना संक्रमणको माहामारी थेग्नै नसक्ने गरी फैलिएपछि स्वास्थ्यकर्मीले तत्काल जनशक्ति तथा अक्सिजन बेड व्यवस्थापन नभए थप सेवा दिन नसक्ने बताएका थिए ।

मन्त्रालयले १० मेडिकल अफिसरसहित ४० नर्स तथा प्राविधिक र स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी भर्ना गर्न भेरी अस्पतालले स्विकृति प्रदान गरेको हो ।

जनशक्तिको अभावका कारण संक्रमितहरुलाई सेवा दिनै नसक्ने अवस्था सृजना भएपछि बाँकेको कोभिड १९ संकट व्यवस्थापन समितिले थप जनशक्ति र साधन श्रोतको व्यवस्थापन गर्न प्रदेश तथा संघीय सरकारका विभागीय मन्त्रालयसँग माग गरेको थियो ।

मन्त्रालयले १० मेडिकल अफिसर, ४० नर्सिङ स्टाफ, ल्याव टेक्निसियनसहितको दरबन्दी स्वीकृति प्रदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले सरकारले बजेट तथा दरबन्दी स्वीकृत गरेपछि केही सहज हुने बताए ।

सोमबार नै भर्ना खुल्यो
भेरी अस्पताललाई १० जना मेडिकल अफिसरसहित ८० जना जनशक्ति भर्ना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृती प्रदान गरेसँगै अस्पताल प्रशासनले विभिन्न पदमा ६० जनशक्तिकालागि आजै दरखास्त आह्वान गरेको छ ।

अस्पतालले आज नै सूचना प्रकाशित गर्दै ३ जना एनेस्थेलियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, ३ जना नर्सिङ अधिकृत, ५ जना ल्याव टेक्निसियन, ४० जना स्टाफ नर्शका लागि दरखास्त आह्वान गरेको हो ।

अस्पतालले प्रकाशन गरेको सूचनामा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने रकमबाट भुक्तानी हुने गरी असार मसान्तसम्मका लागि करार सेवामा काम गर्न चाहनेहरुका लागि दरखास्त आह्वान गरिएको उल्लेख गरिएको छ ।

प्रदेशले दियो अक्सिजन बेड व्यवस्थापनका लागि बजेट

कोरोना विशेष अस्पतालमा अक्सिजनसहितको बेड व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताललाई तत्काल १ करोड ७५ लाख रकम उपलब्ध गराउने भएको छ ।

रुपन्देहीको बुटवलस्थित लुम्बिनी कोरोना विशेष अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङ र बाँकेमा रहेका कोरोना विशेष अस्पतालका लागि आवश्यक अक्सिजन बेड व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँ र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउन लागिएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेको कोरोना रोकथाम, उपचार तथा निर्देशन समितिको बैठकले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको बेड व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो । बैठकले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर